आज दिगो 'ग्यास्ट्रोनोमी' दिवस: स्थानीय परम्परा र वातावरणमैत्री खाद्य प्रणालीको महत्त्व
हाम्रा कुरा
प्रकाशित २०८२ असार ४ बुधबार
595
Shares
काठमाडौं । आज विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ। ग्यास्ट्रोनोमी भन्नाले खाना पकाउने कला वा कुनै क्षेत्र विशेषको परिकार संस्कृतिलाई जनाए पनि, दिगो ग्यास्ट्रोनोमीले खाना तयार पार्दा प्रयोग हुने कच्चा पदार्थको उत्पत्ति, उत्पादन प्रक्रिया र बजारसम्म पुग्ने तरिका लाई पनि ध्यानमा राख्छ।
संयुक्त राष्ट्रसङ्घ महासभाले सन् २०१६ मा जुन १८ लाई अन्तर्राष्ट्रिय दिगो ग्यास्ट्रोनोमी दिवस घोषणा गरेको थियो। यस दिवसको मुख्य उद्देश्य स्थानीय उत्पादन, मौसमी सामग्री र सांस्कृतिक खानपान परम्पराको संरक्षण गर्नुका साथै वातावरणमैत्री र दिगो कृषि तथा खाद्य प्रणालीको प्रवर्द्धन गर्नु हो।
संयुक्त राष्ट्रसङ्घका शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) र खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले विश्वभर यो दिवस मनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्। युनेस्कोले हालसम्म ५६ वटा सहरलाई 'क्रियटिभ सिटिज अफ ग्यास्ट्रोनोमी' घोषणा गरिसकेको छ, जसले स्थानीय खाना संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याइरहेका छन्।
कोरोना महामारीपछि तथा हाल पृथ्वीले जलवायु सङ्कट, जैविक विविधता नाश र प्रदूषण जस्ता चुनौतीहरूको सामना गरिरहेको अवस्थामा, दिगो ग्यास्ट्रोनोमीको महत्त्व झनै बहिर आएको छ। यसले हाम्रो खाद्य प्रणालीलाई थप जिम्मेवार र दिगो बनाउन प्रोत्साहन गर्छ।