arrow

बुराउसेमा माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८२ असार ४ बुधबार
Simkot_Gaunplaika.png


हुम्ला । सिमकोट गाउँपालिका–४ स्थित बुराउसेमा मङ्गलवार दिउँसो माटोको ढिस्को खस्दा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । 

सिमकोट देखि पञ्चमुखी तर्फ जान निर्माणधिन सडकमा ग्याबिन भर्ने उद्देश्यले जग खन्ने क्रममा अचानक माथिबाट माटोको ठुलो ढिस्को खस्दा सो दुर्घटना भएको हो ।

घटनामा परी गम्भीर घाइते भएकी २३ वर्षीया सुबित्रा बिकको उपचारको क्रममा जिल्ला अस्पताल सिमकोटमा मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख डिएसपी शंकर पोखरेलले जानकारी दिए । 

प्रारम्भिक रूपमा बाह्य चोट देखिएको थिएन तर भित्री चोटका कारण ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनापछि स्थानीय बासिन्दा र अन्य कामदारहरूको सहयोगमा तुरुन्त उद्धार गरिएकाहरूलाई एम्बुलेन्समार्फत जिल्ला अस्पताल सिमकोट ल्याइएको थियो। घाइतेमध्ये बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–१ निवासी २५ वर्षीय पदम सार्कीको ढाडमा गम्भीर चोट लागेको छ भने सिमकोट गाउँपालिका–४ की २२ वर्षीया शर्मिला बिकको निधारको दाहिने भागमा चोट लागेको छ।

त्यसैगरी सिमकोटका ५४ वर्षीया हिरा लामा, ४० वर्षीया पेमा लामा र ५० वर्षीया डोल्मा लामालाई सामान्य चोट लागेपछि जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थल जोखिमयुक्त भू–भागमा पर्दछ र निर्माण कार्यका क्रममा आवश्यक सुरक्षात्मक उपाय नअपनाउँदा यस्ता दुर्घटना हुने भएकाले स्थानीय प्रशासनले निर्माण कार्यमा संलग्न पक्षलाई थप सुरक्षाका उपाय अपनाउन निर्देशन दिइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ