arrow

प्रतिनिधि सभा

राप्रपा सांसदद्वारा 'दैनिक करोडौँ आम्दानी गठबन्धनका नेताले खाएका हुन् कि?' भन्दै प्रश्न [भिडियो]

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन र गृहमन्त्रीको राजीनामा माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ७ शनिबार
roshan-karki.jpg

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन हुनुपर्ने र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गरेकी छन्। शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जनताको आवाज उठाउँदा पनि सरकार बेखबर रहेकोमा चिन्ता व्यक्त गरिन्।

सांसद कार्कीले रुस र युक्रेनको सेनामा रहेका नेपालीहरू पनि भिजिट भिसाबाटै त्यहाँ पुगेको उल्लेख गरिन्। उनले भिजिट भिसाको दुरुपयोगबाट नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू बेचिएको र उनीहरूमार्फत लाखौँ रुपैयाँ असुल गरिएको भन्दै यसलाई ‘निर्लज्जता’ को संज्ञा दिइन्।

"हामीले नेपाली जनताको लागि आवाज उठाएका छौँ। रसियामा गएर काल कुरेर बसेका दाजुभाइको लागि हामीले आवाज उठाएका छौँ। यो जाने बाटो भिजिट भिसाको हो," उनले भनिन्, "हाम्रा दाजुभाइ दिदीबहिनीहरू बेचिएका छन्। उनीहरूमार्फत लाखौँ रुपैयाँ असुल गर्ने जस्तो निर्लज्जता केही पनि छैन।"

कार्कीले गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा जोडिएको आरोप लगाउँदै उनको राजीनामा माग गरिन्। उनले गठबन्धन दलसँग पनि सुशासन कायम गर्ने हो भने गृहमन्त्रीलाई बर्खास्त गर्नुपर्ने माग गरिन्।

"गृहमन्त्रीज्यू पनि अहिले त्यो दायरामा आउनुभएकाले उहाँको राजीनामा माग गरेका छौँ। हाम्रो माग जायज छ," उनले थपिन्। सांसद कार्कीले "पैसा कमाउन देश पनि बेच्ने हो?" भन्दै प्रश्न गरिन् र भिजिट भिसाको दैनिक करोडौँ आम्दानीको हिस्सा गठबन्धन सरकारका 'टाउकेहरूले पनि खाएका त छैनन्?' भन्दै शंका व्यक्त गरिन्।

उनले अविलम्ब उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने र गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा जोड दिइन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ