राष्ट्रपति कार्यालयसहित विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथि संसदमा छलफल शुरु
हाम्रा कुरा
प्रकाशित २०८२ असार ८ आइतबार
1.4k
Shares
काठमाडौं। प्रतिनिधि सभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोध र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बहिस्कारका बीच सुरु भएको छ। बैठकको कार्यसूचीअनुसार, विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयसहित विभिन्न मन्त्रालयहरूको विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ भएको छ।
आजको बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरूले आ–आफ्नो आसनबाट उठेर विरोध जनाए। सभामुख देवराज घिमिरेले बैठक नियमित सञ्चालन गरी आर्थिक विधेयक पारित गरेर आगामी आर्थिक वर्षको बजेट पारित गर्नुपर्ने भएकाले वातावरण बनाइदिन आग्रह गरे, तर सांसदहरूले उनको आग्रह मानेनन्।
बैठकमा रास्वपाका सांसद अशिम शाहले 'भिजिट भिसा' प्रकरणमा तत्काल निष्पक्ष छानबिन नभएसम्म आफ्नो विरोध जारी रहने स्पष्ट पारे। उनले सदनमा एक महिनादेखि विरोध भइरहे पनि सुनुवाइ नभएकोमा गुनासो व्यक्त गरे। यस्तै, राप्रपाका धवलशमशेर राणाले तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न माग गरे।
सभामुख घिमिरेले बैठक नियमित कार्यसूचीमा प्रवेश गर्ने घोषणा गरेपछि रास्वपाका सांसदहरूले नाराबाजीका साथ वेल घेराउ गरिरहेका छन्। सत्तापक्षका सांसदहरूले पनि बैठक सञ्चालनका लागि वातावरण बनाउन माग गर्दै रास्वपा र राप्रपाका सांसदहरूलाई अवरोध नगर्न अनुरोध गरेका छन्।
आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय, र उपराष्ट्रपति कार्यालयको शीर्षकमाथि छलफल हुनेछ।
संसदमा प्रतिपक्षीको निरन्तर विरोधका कारण विनियोजन विधेयकमाथिको छलफल प्रभावित बनेको छ।