बन्दी बनाइएका ५७ नेपालीको उद्धार: परराष्ट्रमन्त्री राणा
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
2k
Shares
काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले भारतका विभिन्न स्थानमा बन्दी बनाइएका ५७ जना नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिएकी छिन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री देउवाले यो जानकारी गराएकी हुन्।
मन्त्री देउवाका अनुसार, भारतस्थित नेपाली दूतावासले उत्तराखण्डमा रहेको ‘किङ इन्डिया’ नामक संस्थासँग सहकार्य गरी बन्दी बनाइएका नेपाली नागरिकहरूको उद्धार गरिरहेको छ।
"भारतमा पनि बन्दी भएर हाम्रा भाइहरू हुनुहुन्छ भनेर संसदमा साथीहरूले कुरा उठाउनुभएको छ," उनले भनिन्, "त्यहाँबाट हालसम्म ५७ जनालाई उद्धार गरिसकिएको छ। उत्तराखण्डको एउटा किङ इन्डिया भन्ने संस्थासँग मिलेर नेपालको राजदूतावासले उद्धार गरेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु।"
उनले यस्ता समस्याहरू नेपाली नागरिकले प्रत्येक दिन भोग्नुपर्ने यथार्थ भएको पनि उल्लेख गरिन्। विदेश जानेबित्तिकै जीवनस्तरमा नै परिवर्तन हुने सोचका कारण नेपाली नागरिकहरू समस्यामा पर्ने गरेको मन्त्री देउवाको भनाइ छ।
यसले विदेशमा नेपाली नागरिकहरूले भोग्नुपर्ने विभिन्न समस्या र सरकारले गरिरहेको उद्धार प्रयासलाई उजागर गरेको छ।