स्वास्थ्य क्षेत्रमा दशकौँको सुधार शुरु, पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने लक्ष्य: मन्त्री पौडेल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
752
Shares
काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा दशकौँदेखि हुन नसकेको संगठन तथा व्यवस्थापन सुधारको प्रक्रिया अघि बढाएको दाबी गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले यो जानकारी दिएका हुन्।
मन्त्री पौडेलले प्रत्येक वर्ष २ हजार ५ सय स्वास्थ्य जनशक्ति थप्ने लक्ष्यसहित अबको पाँच वर्षमा कुल १२ हजार दक्ष जनशक्ति पुर्याउने सरकारको योजना रहेको बताए। उनले सातै प्रदेशमा एक-एकवटा संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत सघन जलन उपचार, मुटु, मिर्गौला प्रत्यारोपण तथा क्यान्सरजस्ता विशिष्ट सेवा उपलब्ध गराइने व्यवस्था गरिएको जानकारी दिए।
मधेस प्रदेशमा विशेष सुविधा सम्पन्न मिर्गौला उपचार केन्द्र स्थापना गर्ने र काठमाडौंमा आधुनिक सुविधासहितको राष्ट्रिय न्युरो उपचार केन्द्र निर्माणका लागि बजेट विनियोजन गरिएको मन्त्री पौडेलले बताए।
उनका अनुसार, संघीय अस्पतालहरूको सुदृढीकरणअन्तर्गत कोशी अस्पताल, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, राप्ती र भेरी स्वास्थ्य विज्ञान प्रतिष्ठान, मानसिक अस्पताल पाटन, संक्रामक रोग अस्पताल टेकु, पोखरास्थित आयुर्वेद तथा प्राकृतिक चिकित्सा अस्पताल, नरदेवी आयुर्वेद अस्पताललगायतका पूर्वाधार निर्माणका लागि बजेटको व्यवस्था गरिएको छ।
मन्त्री पौडेलले सरकार उपचारमुखी सेवामा मात्र नभई नागरिकमा रोग लाग्न नदिन पूर्व-तयारी तथा रोगको रोकथामका कार्यक्रमहरूमा समेत सन्तुलित लगानी गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे। यसले नेपालको स्वास्थ्य सेवालाई थप सुदृढ बनाउने र आम नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।