काठमाडौँ। प्रतिनिधि सभाको आज बिहान ११ बजे बस्ने बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठकमा ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
संघीय संसद् सचिवालयका अनुसार, बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका पनि छ।
विनियोजन विधेयक पारित हुनुअघि, बैठकमा विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम छ। यसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ र सहरी विकास मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयहरू समावेश छन्।
त्यस्तै, सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, विमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्तिबहादुर केसी, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत, उर्मिला माझी, अम्मरबहादुर थापा, छिरिङल्हामु लामा (तामाङ), नारायणी शर्मा, गङ्गा कार्की र लेखनाथ दाहालले प्रस्तुत गरेका खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।