arrow

मनसुनजन्य विपद्

मनसुनजन्य विपद् न्यूनीकरणमा पूर्वसूचना प्रणाली र विज्ञानमा आधारित तयारीमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १२ बिहिबार
dharmaraj-upreti-12.jpg

काठमाडौं । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्। बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले २४ घण्टाअगाडि मात्रै पनि पूर्वसूचना समुदायमा पुगेमा ३० देखि ४० प्रतिशतसम्म हानी नोक्सानी घटाउन सकिने बताए।

डा. उप्रेतीले राष्ट्रिय मानक कार्य सञ्चालन प्रक्रिया (एसओपी) बनाएर पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गराए। उनले विगतका मनसुनजन्य विपद्बाट पाठ सिकेर आगामी दिनमा त्यस्तो अवस्था आउन नदिन पूर्वसूचना प्रणालीको विकास गरी प्रभावकारी प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले भने, "२० लाख जना प्रभावित हुने भनेर यसपटक भनिएको छ। दुई जना पनि नमरुन्। २० जनालाई पनि चोट नलागोस् भनेर हामीले काम गर्नुपर्छ।"

जलवायुविद् डा. वसन्त अधिकारीले सरकारलाई विज्ञानमा आधारित विपद् पूर्वतयारीमा ध्यान दिन आग्रह गरेका छन्। उनले प्राकृतिक प्रकोपलाई मानवीय लापरबाहीका कारण विपद् बन्न नदिन समेत सरकारको ध्यानाकर्षण गराए।

डा. अधिकारीले मनसुनजन्य बाढी, पहिरो र डुबानसम्बन्धी तयारीबारेको छलफलमा खानी तथा भूगर्भ विभागको गैरहाजिरीप्रति असन्तुष्टि जनाए। उनले भने, "विपद् प्राकृतिक हुँदैन, प्रकोप प्राकृतिक हुन्छ। प्रकोपलाई विपद्मा परिणत हुन नदिनको लागि हो हामीले काम गर्ने। हामीले मनसुनजन्य विपद्बाट हुने बाढी, पहिरो र डुबानको कुरा गरिरहेका छौँ तर खानी तथा भूगर्भ विभागको उपस्थिति आज यहाँ देखिएन। आगामी दिनमा उक्त विभागलाई पनि समितिमा बोलाउन अनुरोध गर्छु।"

उनले सरकार अझै पनि 'दैवीमा' विश्वास गरिरहेको भन्दै विज्ञानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। "हामी अझै पनि भगवानमा विश्वास गर्छौं? दैवले दिएको हो र प्रकृति? हामीले प्रकृतिलाई नेग्लेक्ट गर्ने? विज्ञानलाई हामीले सम्झनु पर्दैन? अहिले हामी विज्ञानमा आधारित विपद् पूर्वतयारीको कुरा गरिरहेका छौँ। सरकार अझै पनि दैवीमा छ। हामी त्यहाँबाट अघि जानुपर्छ," उनले थपे।

बैठकमा बिहीबार मनसुनजन्य विपद्बाट जनधनको सुरक्षा तथा क्षति न्यूनीकरणका लागि सरोकारवाला निकायहरूसँग छलफल भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ