विराटनगर । कोशी प्रदेश सभाको आज बसेको बैठकमा ‘आर्थिक वर्ष २०८२र८३ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा बनेको विधेयक, २०८२’ बहुमतले पारित भएको छ ।
सदनमा कोशी प्रदेश सरकारको ‘अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८२’ भने सर्वसम्मतले पारित भएको थियो । उक्त दुवै प्रस्ताव आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सदनमा पेस गर्दा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेका थिए ।
यसैगरी, विनियोजन विधेयक, २०८२ उपर अलगअलग शीर्षकमा कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा र खिनुलङवा लिम्बूले प्रस्ताव गर्नुभएको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकार गरेको थियो ।
आर्थिक मामिला तथा योजनामन्त्री मगरले बजेट निर्माण गर्दा आम नागरिकको भावना र चाहनालाई केन्द्रमा राखी गरेको जानकारी दिँदै बजेटमा कसैमाथि अन्याय भएको दाबी गरे ।
“बजेटमा सन्तुलन कायम छ, बजेट निर्माण गर्दा सत्तापक्ष र प्रतिपक्षलाई नहेरी जनताको आवश्यकताका योजना र चाहनालाई समावेश गरिएको छ”, उनले भने, “नदीजन्य पदार्थ, वनजङ्गल, मालपोत र यातायातका क्षेत्रबाट उल्लेखनीय राजस्व सङ्कलन गर्न प्रदेश सरकार योजनाबद्ध रुपमा लाग्नेछ ।”
विशेष समय
प्रदेश सभाको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने बताए ।
उनले प्रमुख प्रतिपक्ष दलका नेतालाई संसद्मा छलफल गर्न समय निर्धारण गर्ने प्रक्रिया गलत हो भन्दै संसद् सत्ताको नियन्त्रणमा रहन नहुने तर्क गरे ।
नेता आङ्बोले सरकारले बजेट निर्माण गर्दा कुनै एक जिल्लालाई मात्र नभई सबै जिल्लालाई हेरेर बजेट बनाउनुपर्ने बताउँदै सरकारले प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रलाई न्याय गर्नुपर्ने धारणा राखेका थिए ।
शून्य समय
बैठकको शून्य समयमा कोशी प्रदेशसभा सदस्य सपना दर्जीले सुनसरीको श्रीलङ्का टापु र कोशी बाँध भत्किँदा प्रभावित जनतालाई उचित व्यवस्थापन गर्न प्रदेश सरकारमार्फत सङ्घीय सरकारको ध्यानाकर्षण गराए ।
प्रदेश सभाको अर्को बैठक यही असार १६ गते दिउँसो १ बजे बस्नेछ ।