मनसुन शुरू भएसँगै त्रासमा नल्लु खोलाका बाढी पीडितहरू [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ असार १४ शनिबार
590
Shares
काठमाडौँ । अहिले देशभर मनसुनी प्रणाली सक्रिय भएको छ । मनसुन शुरू भएसँगै बाढी, पहिरो लगायतका विभिन्न प्राकृतिक विपत् देशले सामना गर्नु परेको छ । हरेक वर्ष बाढी, पहिरोमा परी सयौ मानिसले ज्यान गुमाएका खबरहरु सञ्चार माध्यमबाट सुनी रहनु पर्ने अवस्था नयाँ र नौलो भने होइन ।
यस वर्ष गत वर्षको तुलनामा अधिक वर्ष हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गत असोज ११ र १२ गरेको अविरल वर्षा र त्यसपछिको बाढीले उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा धेरै क्षति पुर्याएको घटना सेलाउन नपाउँदै फेरि मनसुनजन्य विपत् हुन थालेको छ ।
यस्ता खबर सञ्चार माध्यमबाट सुन्दा रातमा निदाउन सक्दैनन् ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं ६, ढुङ्गे, जुरे डाँडा नयाँबस्ती, गैरीगाउँ र टुसाल गाउँका स्थानीयहरू ।
नल्लु खोलामा गत असोजमा आएको बाढीले ढुङ्गे गाँउलाई बगर बनाएको थियो भने गैरीगाउँ र टुसाल गाउँका केही घरहरू नल्लुसंगै बगेका थिए, तर त्यहाँ स्थानीय सरकारले नै वास्ता गर्यो नत संघीय सरकारकै नजर पर्यो ।
केही गैरसरकारी संघहरुले जस्ता र राहत स्वरुप दाल चामल वितरण गरेको भए पनि वडा र नगरपालिकाले केही नगरेको स्थानीयको गुनासो छ ।
नीता नगरकोटी जस्ताले बनाएको अस्थायी घरको आँगनबाट ढुङ्गे तिर हेर्दै असोजको बाढी र त्यसले मचाएको वितण्डा सम्झिन्छिन् । दुईतले घर, पसल थियो सबै बगायो, केही निकाल्न पाइएन, गरी खाने पसल पनि नरहेपछि अहिले उनी सो क्षेत्रमा सञ्चालन गरेको क्रसरमा ढुङ्गा संकलन गर्ने काम गर्छिन् ।
गैरसरकारी संघले दिएको जस्ताले अर्काकै जग्गामा टाउको राख्न अस्थायी घर बनाएको उनले बताइन् । नगरपालिका र वडाले आश मात्र देखाउने तर केही नगर्ने उनले गुनासो पोखिन् ।
सो क्षेत्रमा दशकौ देखि सञ्चालन गरिएको अवैध उत्खनन र क्रसर उद्योग त्यस्तै गरी ललितपुरको कोञ्ज्योसोम गाउँपालिका जानका लागि अध्ययन बिना नै जथाभावी खनिएका सडकले नल्लु खोलामा बाढी निम्त्याएको स्थानीयहरू बताउँछन् ।
नल्लु खोलाको धार नै परिवर्तन हुने गरी आएको बाढीले ठूली नगरकोटीको घर पनि बाँच्न सकिन । घरबार नै विहिन भए पछि सिखर्पा गाउँ भाँडामा जमिन लिएर अस्थायी घर बनाएकी ठूलीलाई अहिले भाँडा तिर्न पनि मुस्किल भइरहेको छ ।
नगरपालिकाले १० वर्षको लागि भाँडा तिर्दिने भनेको भए पनि अहिले त्यसो नगरेको उनले सुनाइन् । श्रीमान् गुमाइसकेकी ठूली अहिले क्रसरमै ज्याला मजदुरी गर्छिन् ।
नीता नगरकोटी र ठूली नगरकोटी केही प्रतिनिधि पात्र मात्र हुन् सो बाढीले धेरैको घर बगाएको र उठिबास नै लगाएको छ । गैरीगाउँ र टुसालगाउँका केही परिवारहरू विस्थापित नै हुनु परेको छ ।
खोलालाई पुरानै धारबाट फर्काउन तारजाली लगाउन माग राखेपनि वडाले सहयोग नगरेको स्थानीयले सुनाए । खोलाको मापदण्ड निर्धारण गर्नु पर्ने र जथाभावी तारजाली लगाउन नमिले वडाको जवाफ पछि स्थानीयहरू अझ चिन्तित भएका छन् ।
कतिबेला खोलामा बाढी आउने र अलि अलि बाचेको पनि लाने हो कि भनेर निदाउन नसक्ने स्थानीय राजकुमार नगरकोटीले बताए । ढुङ्गेमै भैंसी फर्म सञ्चालन गरेका उनको पनि बाढीले ५ वटा भैंसी बगाएको कुरा सुनाए ।
त्यस बाढीले टिकाभैरब क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको छ भने टीका भैरव मन्दिर नै जीर्ण बनेको छ । खोलाले धेरैको खेत कटान गरेको छ ।
नेपाल सरकार र सरकारका विभिन्न निकायहरूलाई हरेक वर्ष विपत् जन्य घटनाहरू न्यूनीकरण र प्रभावितलाई उचित राहतको घोषणा गरेपनि त्यो बास्तबित पीडित र प्रभावितले नपाउने गुनासो सधैं जसो सुनिने गर्दछ । संघीय राजधानीसँगै जोडिएको सो क्षेत्रमा सरकार नपुग्नु भनेको सो क्षेत्रका बासिन्दाको लागि सरकार नभए सरह हो ।