निजामती विधेयक प्रतिनिधि सभाबाट पारित हुँदै, राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
2.1k
Shares
काठमाडौँ। सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक दिउँसो १:०० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १२:१५ बजेका लागि तय भएको छ।
निजामती विधेयक पारित गर्ने कार्यसूची
आजको प्रतिनिधि सभा बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० पारित गर्ने मुख्य कार्यसूची रहेको छ। मुलुक सङ्घीय संरचनामा गए पनि प्रशासनिक सङ्घीयता कार्यान्वयनमा देखिएका जटिलता समाधान गर्न यो विधेयक महत्त्वपूर्ण मानिएको छ। यसअघि असार ३ गते नै यो विधेयक पारित गर्ने कार्यसूचीमा भए पनि अन्तिम समयमा रोकिएको थियो।
आजका लागि निर्धारित कार्यसूचीअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। सांसदहरूले विधेयकमाथि आफ्नो धारणा राखेपछि यो पारित हुनेछ। प्रतिनिधि सभाबाट पारित भएपछि विधेयक राष्ट्रिय सभामा पठाइनेछ, जहाँबाट पारित भएर फिर्ता आएपछि सभामुखले प्रमाणित गरी राष्ट्रपतिसमक्ष पेस गरिनेछ र प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ।
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल
यस्तै, राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरूमध्ये १४ वटा मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि समूहीकृत रूपमा छलफल हुने सम्भावित कार्यसूची छ।