काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सांसद एवं उद्योगपति विनोद चौधरीले अर्का केन्द्रीय सदस्य डा शेखर कोइरालाको अभिव्यक्तिमाथि कडा प्रतिवाद गरेका छन् ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता चौधरीले कांग्रेसले अहिलेसम्म देशको आर्थिक बागडोर सम्हालेर राखेको भन्दै गलत प्रवृत्ति भएका कांग्रेस नेताहरुकै कारण भोलिका दिनमा पार्टी नै नरहने गम्भीर संकट निम्तन सक्ने चेतावनी दिए ।
चौधरीले आफूमाथि डा कोइरालाले लगाएको लान्छनाले मर्माहत हुँदै भोलि पार्टी हाँक्ने इच्छा राखेको नेताको सोच देखेर अचम्म परेकोसमेत संकेत गरेका छन् ।
डा कोइरालाले सोमबारको केन्द्रीय समिति बैठकमा आफूमाथि लान्छना लगाएपछि मंगलबारको बैठकमा त्यसको कडा प्रतिवाद गर्दै गुटबन्दीको सीमा तोक्नसमेत नेतृत्वलाई सचेत गराएका छन् ।
डा कोइरालाले चार वर्षअघि विनोद चौधरीलाई नीति नियम मिचेर केन्द्रीय समितिमा ल्याउनु गलत भएको आरोप लगाएका थिए ।
त्यसको जवाफमा चौधरीले आफूलाई विधि पुर्याएर पार्टीको केन्द्रीय समितिमा ल्याइएको बताए ।
उनले सारा विधि पुर्याएर पार्टीको नियम, अर्को पार्टीबाट आएको पृष्ठभूमि, त्यसको कानूनी परिपक्ष, पार्टीको कानून विभागले गरेको त्यसको विश्लेषण र त्यसको निर्णय र त्यसपछि गएको अदालत र अदालतलेसमेत गरेको निर्णय र निर्वाचन आयोग यी सबैबाट सफाइ प्राप्त व्यक्ति भएको जिकिर गरे ।
नेता चौधरीले डा शेखरको हैसियतमाथि प्रश्न उठाउँदै पार्टीलाई हाँक्ने जमर्को गर्ने नेताहरुको दृष्टिकोणमा निजी क्षेत्रका आफूहरुजस्ता मान्छेहरुको भूमिका के हो ? भनी प्रश्न गरेका थिए ।
उनले प्रश्न गर्दै भने, ‘के सधै नै हामीले कन्फ्लिक्ट अफ इन्टरेष्टको नाममा अनुभव बोकेका मान्छेहरुलाई छेक्ने नै हो ?’
उनले गुटको पनि सीमा हुनुपर्ने उल्लेख गर्दै भने, ‘गुटको राजनीतिको नाममा हामीजस्ता मान्छेलाई देशभरि छेक्ने, विश्वभर चिनिएका यस्ता व्यक्तिलाई पार्टीको एजेन्डा, यो पार्टीले एउटा सम्पन्न नेपाल बनाउने एजेन्डा, दुनियाँको अगाडि पस्किने क्रममा भित्र्याउने हो कि या घर्घर् गरेर यो पार्टीको आधिकारिक उम्मेदवारको विरोधमा रिजेक्ट पार्टीको लागि ठाउँठाउँमा बुथबुथमा मान्छेहरु राख्ने हो ?’
प्रश्नैप्रश्न तेर्स्याएर सांसद चौधरीले डा शेखरबारे भने, ‘पार्टीका शीर्षस्थ नेताहरुलाई जथानाम गाली गरिकन, हराउनका लागि हरप्रकारको तिकडम गरेर लुम्बिनी प्रदेशको महामन्त्रीको पदमा आशिन भएर बस्ने मान्छेलाई बोकेर हिँड्ने नेताले हाँक्ने हो पार्टीलाई भोलिको दिनमा ?’
उनले यो नै आजका लागि सबैभन्दा महत्वपूर्ण प्रश्न भएको बताए । उनले पार्टीमा गुट भए पनि गुटका मान्छेले पार्टीलाई कहाँसम्म पुर्याउन सक्छु भनेर एजेन्डा बोकेर हिँड्नु पर्ने बताए ।
नेता चौधरीले भने, ‘गुटैपिच्छेका नेताले पार्टीलाई कुन प्राथमिकता दिएर कहाँसम्म पुर्याउन सक्छु भनेर दृष्टिकोण राख्न सक्नुपर्छ । खास गरिकन अहिलेको समयमा जबकि पार्टीले अत्यन्त चुनौतीपूर्ण परिस्थितिको सामना गर्दैछ ।’
अहिले जताततै त्रास रहेको र जागिरदेखि बाँच्ने आधार खोजिरहेका युवालाई समेट्नु पर्नेमा भड्काएर हिँड्ने काम भइरहेको आरोपसमेत चौधरीले लगाए ।
उनले डा कोइरालाको सन्देशले कांग्रेसका ठूला नेताहरुका बारेमा सोच्नपर्ने बाध्य बनाएको उल्लेख गरे ।
उनले भने, ‘पूर्ण दृष्टिकोण देशभित्र र देश बाहिर भएका सम्पूर्ण युवाहरुको ध्यान भनेको अहिले जागिर, बाँचेर बस्ने, टिक्न सक्ने, आफ्नो भोलिको भविष्यलाई सुरक्षित राख्न सक्ने कार्यक्रम र ती त्यस्ता अनुहारहरु जसले दिएका कार्यक्रमहरु हामीले भर गर्न सक्ने को हो त भनेर खोजी गरिरहेको स्थितिमा नयाँ किसिमको जोश र वातावरण तथा एउटा विश्वासको वातावरण सिर्जना गर्ने बताउनुको सट्टा जुन प्रकारको सन्देश हिजो उहाँले बोल्नुभएको कुराले बाहिर पठाएको छ मलाई लाग्छ त्यसले नेपाली कांग्रेसकै सोचाइका बारेमा नेपालकै ठूलाठूला नेताहरुका बारेमा गम्भीर प्रश्न उठाएको छ ।’
डा शेखरको हर्कतप्रति आक्रामक भएको चौधरीले व्यक्तिगत रुपमा उनलाई सम्मान गरे पनि यो तरिका भने गलत भएको बताए ।
उनले विक्रम खनाल (कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री) लाई बचाउनु छ भने त्यसका लागि अनुशासन समितिसँग छलफल गर्नसमेत सुझाव दिँदै केन्द्रीय समितिमा त्यो प्रकारको प्रश्न गर्नु कुनै पनि किसिमले औचित्य नभएको बताए ।
उनले कामै गर्न नदिनेहरुलाई कडा भन्दा कडा कारबाही गर्न पनि नेतृत्वलाई सुझाएका छन् ।
गुटबन्दी र अनुशासनको खडेरीले पार्टी नै विलिन हुन सक्नेतर्फ संकेत गर्दै सउनले भने, ‘जहाँ अनुशासनको प्रश्न आउँछ पार्टीलाई हरदिन विवादमा लिएर जाने, कुनै पनि काम गर्न नदिने वातावरण बनाउनेलाई पार्टीले कडा भन्दा कडा अनुशासनको कारबाही गरेन भने यो पार्टी भोलिका दिनमा पार्टीको रुपमा चुनौती थाम्ने स्थितिमा नरहन सक्छ ।’
उनले गुटको सीमा खिच्नुपर्ने भन्दै भने, ‘सभापति महोदयलाई फेरि पनि आग्रह गर्न चाहन्छु कि गुटको राजनीतिको पनि एउटा सीमा खिच्नुपर्छ । यो पालिको कारबाहीमात्र होइन यसपछि पनि त्यस्ता किसिमका गतिविधिमा संलग्न हुने, पार्टीलाई नोक्सान पुर्याउने, पार्टीका आधिकारिक उम्मेदवारलाई नोक्सान पुर्याउने, आफ्ना जिम्मेवारीलाई अगाडि नबढाउने, त्यस्ताका खिलापमा उजुरीमात्र होइन तत्काल कारबाही गर्ने वातावरण बनाउन सक्नुपर्दछ । यो पार्टीलाई भोलिको चुनौती थाम्नका लागि खडा गर्ने हो भने ।’
डा शेखरले ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ (स्वार्र्थको द्वन्द्व) को बारेमासमेत प्रसङ्ग उठाएर आफूहरु जस्तालाई कांग्रेसमा समेटेकोप्रति आपत्ति जनाएको संकेत गरेपछि नेता चौधरीले भने, ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट भनेको के हो ? किसानले कृषि मन्त्रालय चलाउँदा ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ हुने हो भने डाक्टरले स्वास्थ्य मन्त्रालय चलाउँदा ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ हुने हो भने आज एउटा उद्यमी व्यवसायीले एउटा अर्थतन्त्र बुझेको मान्छेले अर्थतन्त्र चलाउँछ भने ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ हुने भए के को लागि ल्याउने ?’
शेखरको भनाइलाई मान्ने हो भने अब कुनै पनि विषयका विज्ञलाई कांग्रेसमा छिर्ने ढोका बन्द गर्न चुनौती दिएका छन् ।
उनले भने, ‘यो कमिटिले निर्णय गरोस् कि यहाँ खाली जेल र नेल खाएका मानिसहरु बाहेक (उहाँहरुप्रति म सम्मान गर्छु) कुनै पनि पेशामा जतिसुकै नाम कमाएको, जतिसुकै प्रतिष्ठा कमाएको व्यक्ति होस् हामीलाई त्यसको आवश्यकता छैन । यदि त्यो नै हाम्रो सोच हो भने त्यही नै निर्णय गरौँ हामी ।’
शेखरको विज्ञताप्रति प्रश्न तेर्स्याउँदै नेता चौधरीले सरल तरिकाले भने, ‘तर यो डबल स्टयान्डर्डलाई हामीले त्याग्नै पर्छ ।’
चौधरीले आफ्नो सम्बोधनका क्रममा हालै पार्टीले ल्याएको आर्थिक योजनाप्रति उत्साही भएको बताए ।
उनले भने, ‘भर्खरै धेरै रातको ठूलो मेहनतपछि महामन्त्रीज्यूहरुले ल्याउनु भएको एउटा नयाँ आर्थिक सोच, एउटा नयाँ आर्थिक दृष्टिकोण आदरणीय पार्टी सभापतिले बढाउन खोज्नु भएको योजनाप्रति हामी उत्साही छौँ । एकातिर उत्साहित छौँ भने अर्कातर्फ यस्ता प्रकारका अभिव्यक्तिहरु सुन्दाखेरी दिक्क लाग्छ ।’