arrow

बागमती प्रदेशसभा बैठक आज: बजेटमाथि छलफल जारी, कांग्रेसद्वारा ह्वीप जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २३ सोमबार
bagmati-province-new.jpg

काठमाडौँ । बागमती प्रदेशसभाको बैठक आज बिहान ८ बजे बस्दैछ। यस बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल जारी रहने कार्यसूची रहेको छ।

गएको असार १ गते बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आव २०८२/८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट प्रदेशसभा समक्ष प्रस्ताव गरेका थिए। सो बजेटमाथि असार २० गतेदेखि प्रदेशसभा बैठकमा छलफल सुरु भएको हो।

हिजो बसेको प्रदेशसभा बैठकमा २३ जना प्रदेशसभा सदस्यहरूले बजेटमाथि आफ्ना धारणा राखेका थिए। प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार, बोल्न बाँकी प्रदेशसभा सदस्यहरूले आज बोल्ने कार्यसूची छ।

बजेट वक्तव्यमाथि छलफल गरेर विनियोजन विधेयक पेस गरेपनि प्रतिपक्षी दलले बजेटको पूरक प्रस्ताव माग गरेपछि बैठक स्थगित भएको थियो। शनिबार बिहानै दलहरूबीच छलफल भएपनि सहमति जुट्न नसकेपछि अन्ततः सरकारले शनिबार साँझ प्रदेशसभामा बजेटको पूरक प्रस्ताव दर्ता गराएको थियो।

यसैबीच, नेपाली कांग्रेस संसदीय दलले आफ्ना प्रदेशसभा सदस्यलाई ह्वीप जारी गरेको छ। संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले प्रदेशसभा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन र पार्टीको निर्देशनअनुसार मतदान गर्न निर्देशन दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ