प्रतिनिधि सभामा विभिन्न विधेयक र प्रतिवेदन पेश हुँदै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ असार २३ सोमबार
1.9k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्दैछ । यो बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयक र प्रतिवेदनहरू टेबुल तथा प्रस्तुत हुने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्नलाई समय मागेका छन् ।
प्रधानमन्त्री स्पेनमा गएर फर्केपछि त्यसको जानकारी र समसामयिक विषयमा सम्बोधन गर्नेछन् ।
त्यस्तै आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले राष्ट्रिय सभाबाट प्राप्त विभिन्न विधेयकसम्बन्धी सन्देशहरू टेबुल गर्नेछन्। यसमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ समावेश छन्। त्यसैगरी, ‘विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पनि राष्ट्रियसभाको सन्देशसहित टेबुल गरिनेछ।
आजको बैठकमा केही नयाँ विधेयकहरू पनि प्रस्तुत हुने कार्यक्रम छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नेछन्। यस्तै, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
बैठकमा महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदनसमेत पेस हुने कार्यसूची तय भएको छ। यी प्रतिवेदनहरूले मुलुकको आर्थिक अवस्था र कृषि क्षेत्रको समग्र स्थितिका बारेमा महत्त्वपूर्ण जानकारी प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।