काठमाडौँ। नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर संसदमा भ्रमपूर्ण कुरा गरिएको भन्दै त्यसलाई संसदको रेकर्डबाट हटाउन सभामुखसँग आग्रह गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएका केही मानिसहरू उतै बसेको भन्दै सांसदहरूले अभिव्यक्ति दिएकोमा आपत्ति जनाएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पेन भ्रमणमा गएका केही मानिसहरू नफर्किएको समाचारमा आइरहेको भन्दै सदनमा ध्यानाकर्षण गराएकी थिइन्।
सोही कुरालाई लिएर मुख्य सचेतक बर्तौलाले यस्ता अभिव्यक्तिहरू भ्रामक, तथ्यहीन र आपत्तिजनक भएको बताए। उनले प्रमाणित गरेर देखाउन चुनौती दिँदै उक्त कुरा संसदको रेकर्डबाट हटाउन माग गरे।
बर्तौलाले भने, "केही माननीयज्यूहरूले असाध्यै भ्रामक, तथ्यहीन र आपत्तिजनक विषयहरू संसदमा राख्नुभएको छ। बोल्न पाउने अधिकारलाई माननीय सदस्यहरूले दुरुपयोग गर्दै सम्माननीय प्रधानमन्त्रीज्यू स्पेनको अन्तर्राष्ट्रिय स्तरको संयुक्त राष्ट्रसंघ संवद्ध कार्यक्रममा सहभागी भएर फर्किसक्नुभयो। उहाँ स्पेनको कार्यक्रममा सहभागी हुँदै गर्दा केही मानिसहरू स्पेनमै बसेका छन्, वा भिजिट भिसामा गएर फर्किएका छैनन् भनेर सम्माननीय प्रधानमन्त्री लक्षित अभिव्यक्तिहरू यस गरिमामय संसदमार्फत अभिव्यक्त हुने काम भयो।"
उनले यस्ता विषयहरू ’निराधार, भ्रामक, कपोलकल्पित’ भएको बताउँदै जिम्मेवार सांसदहरूबाट यस्तो तथ्यहीन कुरा गर्नु आफैंमा बेठीक भएको उल्लेख गरे। उनले थप स्पष्टीकरणका लागि 'को मानिसहरू प्रधानमन्त्रीसँग साथमा गएर फर्किएनन्, ती बोल्ने माननीयज्यूहरूले यो संसदमार्फत संसदलाई जानकारी गराइनुपर्छ' भनी चुनौती दिए।
प्रमुख सचेतक बर्तौलाले बोल्न पाउने अधिकारको दुरुपयोग नगर्न पनि चेतावनी दिए।