रसुवा बाढी: १९ जना अझै बेपत्ता, खोजी कार्य जारी, हिमताल फुटेको आशंका
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
650
Shares
काठमाडौं। नेपाल प्रहरीले रसुवामा मंगलबार आएको भीषण बाढीपछि बेपत्ता भएका १९ जनाको खोजी कार्य आज बिहानैदेखि जारी राखेको छ। रसुवाबाट बगाएका व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली नदी किनार हुँदै नारायणी नदीसम्म र विभिन्न जिल्लामा खोजी भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिएका छन्।
प्रवक्ता थापाका अनुसार, रसुवा, नुवाकोट, धादिङ, चितवन र नवलपरासीसम्मका नदी किनार क्षेत्रमा खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ। बाढीमा परी बेपत्ता भएका प्रहरीका असई लालबहादुर श्रेष्ठको शव मंगलबार साँझ चितवनमा फेला परेको थियो।
बाढीले शव तलसम्म लगेको आशंकामा खोजी जारी रहेको र मृत्यु भएकाहरूको सनाखतको काम पनि अघि बढाइएको थापाले बताए। हालसम्म बाढीमा परी मृत्यु भएका नौ जनामध्ये पाँच जनाको मात्रै सनाखत गर्न सकिने अवस्थामा शव रहेका छन्। चार वटा मानव अंग मात्रै फेला परेकाले ती शवको भने डीएनए परीक्षण आवश्यक रहेको थापाले जानकारी दिए।
अझै दुई प्रहरी, छ चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता रहेको उनले बताए।
"बाढीले ६४ वटा सवारीसाधन, मितेरी पुल बगाएको छ भने भौतिक सम्पत्तिमा ठूलो क्षति गराएको छ," थापाले भने। बाढीको कारण अझै यकीन भइनसकेको तर मौसमविद्हरूले माथिल्लो क्षेत्रमा रहेका हिमपोखरीहरू फुटेका हुनसक्ने आशंका गरेका छन्।
मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुलीले बाढीको कारण पत्ता लगाउन अध्ययन भइरहेको जानकारी दिएका छन्। ठूलो वर्षा नभइकन यसरी बाढी आएकाले यसबारे विस्तृत रूपमा अनुसन्धान भइरहेको उनले बताए।