म्याग्दी नदी पहिरोले थुनियो: तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
750
Shares
तस्बिर फाइल
म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो म्याग्दी नदी थुनिएको छ। पहिरो नदीमा थुप्रिएर तलाउ बनेको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिएका छन्। घटनास्थलमा निरन्तर पहिरो खसिरहेको बताइएको छ।
धौलागिरि गाउँपालिका ४ र ७ को सिमाना काउसीबोटको भिरमुनि म्याग्दी नदीमा पहिरो थुप्रिएर नदी अवरुद्ध भएको हो। बिहान भारी वर्षापछि बढेको म्याग्दी नदीको सतह पहिरोपछि घटेको बासबोटको छिमेकी गाउँ छहरीका बासिन्दा तम पुनले बताए।
नदी थुनिएपछि तटीय क्षेत्रका बस्तीहरूमा सतर्कता अपनाइएको छ। छहरी, कल्लेनी, भारवाङ, साँवता, थापाचौर, दरवाङ, छिसवाङ, खोप्टी, पिपलबोट, बाबियाचौर, तोराखेत, सिमलचौर, तातोपानी, सिंगा र बेनी बजार म्याग्दी नदीको तटीय क्षेत्रका बस्तीहरू हुन्।
धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगरसहित जनप्रतिनिधि र ताकम प्रहरीचौकीबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएको छ। घटनास्थल पुगेपछि तलाउ कत्रो बनेको छ भन्ने यकीन हुने अध्यक्ष पुनले जानकारी दिए।
उनले नदी थुनिएर बनेको तलाउ एकै पटक बग्दा तटीय क्षेत्रमा कटान र बाढी आउन सक्ने भएकाले प्रशासन कार्यालयमार्फत सतर्कता अपनाउन अनुरोध गरिएको बताए। धौलागिरि हिमालमा मुहान रहेको म्याग्दी नदी बेनी बजारमा आएर कालीगण्डकीमा मिसिन्छ।