स्पेन भ्रमणका सहभागी नफर्किएको विषयमा सांसद सोविता गौतमको स्पष्टीकरण
मैले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरु फर्किएनन् भनेको छैन
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
2.2k
Shares
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली स्पेन गएको कार्यक्रममा प्रधानमन्त्रीसँगै गएका मानिसहरू नफर्किएको भन्ने कुरा आफूले नभनेको बताएकी छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले यो स्पष्टीकरण दिएकी हुन्।
मंगलबारको बैठकमा सांसद गौतमले प्रधानमन्त्री ओली स्पेन गएको कार्यक्रममा सहभागी हुने बहानामा केही मानिसहरू नफर्किएको विषयमा समाचार सार्वजनिक भएको भन्दै संसदको ध्यानाकर्षण गराएकी थिइन्। समाचारमा आएका कुराहरूबारे संसदको ध्यानाकर्षण गराउँदा आफ्नो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग भएकोप्रति पनि उनले आपत्ति जनाइन्।
उनले भनिन्, "यस्तो नागरिक बेचिने र देशकै छविमा आँच आउने सरकारले स्वार्थ बाँझिने अनुपयुक्त आफू मातहतकै कनिष्ट कर्मचारीको नेतृत्वमा टालटुले छानबिन समिति बनाएर झेली खेल खेलेको छ। यसकै विरोधमा हामी हाम्रो कुरा नसुनेको कारण निरन्तर रूपमा संसद बहिष्कार गरिरहेका छौं। सभामुख महोदय, यही विषयमा हिजो मैले बोलेको कुरा संसदबाट हटाउन समेत माग भएको रहेछ। पछि थाहा भयो। प्रधानमन्त्रीज्यूको सचिवालयबाट चुनौती पनि आएको रहेछ। केही माननीयज्यूहरूले बतासे केटाकेटी पनि भन्न भ्याउनु भएको रहेछ। सभामुख महोदय, रास्वपा जिम्मेवार पार्टी हो। मैले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेको छैन। राम्रोसँग कान खोलेर सुन्नुहोस्।"
सांसद गौतमले आफूले प्रधानमन्त्रीसँगै नगए पनि उक्त कार्यक्रममा सहभागी हुन भनि गएका केही नागरिकहरू नफर्किएको कुरा सत्य भएको दोहोर्याइन्।