रास्वपालाई गृहमन्त्रीको प्रश्न - भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताहरुले नैतिकताका कुरा सिकाउन मिल्छ ? [भिडियो]
रवि लामिछाने कुनै बेला भिजिट भिसामा अमेरिका गएर उतैको नागरिकता लिएर बसेको आरोप
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
834
Shares
काठमाडौं। गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीका नेताका कार्यकर्ताहरूले नैतिकताका कुरा नसिकाउन आग्रह गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई यस्तो आग्रह गरेका हुन्।
गृहमन्त्री लेखकले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर उठेका प्रश्नमा प्रधानमन्त्रीसँग जाने मानिसहरू सरकारले निर्णय गरेर लैजाने र उनीहरूको नाम सार्वजनिक पनि हुने बताए। उनले रास्वपाका सांसदहरूलाई यस्ता न्यूनतम जानकारी राख्न आग्रह गर्दै, "कोको जानुभएको थियो र त्यसमध्ये को फर्किएर आएन भनेर भनिदिए सरकारलाई सजिलो हुन्थ्यो। होइन भने यस्ता कल्पनामा, अनुमानमा असत्यका पुलिन्दा बाँधेर कहीँ पनि पुगिँदैन," भने।
गृहमन्त्री लेखकले सहकारी ठगी प्रकरणमा अदालतको फैसलासँगै कारागारमा रहेका राष्ट्रिय सभाका सभापति रवि लामिछाने कुनै बेला भिजिट भिसामा अमेरिका गएर उतैको नागरिकता लिएर बसेको कुरा स्मरण गराए। उनले रास्वपालाई नैतिकताको प्रश्न उठाउँदै भने, "मान्य रवि लामिछानेजी यही सम्मानित सदनको सदस्य रहनुभएको थियो। उहाँ कुनै समय अमेरिकाको भिजिट भिसामै भिजिट गर्न जानुभएको भन्ने सुनेको छु। भिजिटरको रूपमा जाने भनेको भिजिट भिसा नै हो। उहाँ भिजिटरको रूपमा अमेरिका जानुभएको हो कि होइन? होइन भने के भिसामा जानुभएको हो? त्यो जानकारी गराइदिनुहोला।"
उनले थपे, "भिजिट भिसामै जानुभएको हो भने भिजिट भिसामा गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन। त्यो भिजिट भिसाको दुरुपयोग हो कि होइन। अनि भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीका नेताका कार्यकर्ताहरूले अर्कोलाई धेरै ज्यादा नैतिकताको कुरा पढाउनु हुन्छ कि हुँदैन। नैतिकताको प्रश्न अरूबाट अपेक्षा गर्ने कि आफूबाट प्रारम्भ गर्ने?" उनले साथीहरू अलि ’गर्न नहुनेतिर बढी लागेको’ बताए।
गृहमन्त्रीले नैतिकताको प्रश्न अरूबाट अपेक्षा गर्नुभन्दा आफूबाटै लागू गर्न आग्रह गरे।