रसुवा बाढीको प्रारम्भिक कारण हिमताल विस्फोट भएको विज्ञको निष्कर्ष [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
846
Shares
तस्बिर : सुमन चापागाईँ
काठमाडौं। रसुवामा हालै आएको बाढीको कारण तिब्बती क्षेत्रमा रहेको हिमताल विस्फोट रहेको प्रारम्भिक निष्कर्ष सार्वजनिक भएको छ। जलवायु परिवर्तन र मौसममा अध्ययन गरिरहेका विभिन्न संस्थाहरूले भू-उपग्रह तस्बिरहरूको विश्लेषणका आधारमा यो अनुमान गरेका हुन्।
जल तथा मौसम विज्ञान विभागले बाढीको सम्भावित कारण हिमताल विस्फोट नै हुनसक्ने प्रबल सम्भावना रहेको बताए पनि कुन ताल विस्फोट भएको भन्ने सम्बन्धमा भने अझै अध्ययन भइरहेको छ। स्वतन्त्र विज्ञहरूको अध्ययन टोलीले पनि यसबारे प्रारम्भिक पुष्टि गरेका छन्।
जलवायुविद् डा. धर्मराज उप्रेतीले स्याटेलाइट तस्बिरको प्रारम्भिक अध्ययनबाट तिब्बती क्षेत्रमा रहेको ’सुप्राग्लेसियल’ ताल विस्फोटका कारण बाढी आएको देखिने बताए। उनले सो क्षेत्रमा अन्य तालहरू पनि रहेकाले ती तालको परिवर्तनको अवस्थाको सूक्ष्म विश्लेषण भइरहेको जानकारी दिए। डा. उप्रेतीले यो ताल धेरै पुरानो पनि नभएको देखिएको स्पष्ट पारे।
"सुप्राग्लेसियल लेक विस्फोट भएर यो घटना भएको भन्ने अहिले सम्मको प्रारम्भिक अध्ययनले देखिन्छ," उनले भने, "त्यो स्थानमा भारी वर्षा पनि नभएको र स्याटेलाइट तस्बिरका आधारमा सोही ताल विस्फोट भएको देखिन्छ। विस्फोट अघि र पछिको सो स्थानको वस्तुस्थिति विश्लेषण गर्दा यो देखिन्छ। पहिला र पछिको तस्बिरमा बाढीका तहगत संकेतहरू देखापरेको छ। यो नै विस्फोटकै कारण बाढी आएको भन्ने भनाइको सत्यता नजिक छ।"