चितवनका २५ हजार बढी घरधुरी बाढी–पहिरोको जोखिममा, सुरक्षा तयारी तीव्र
१ लाख २८ हजार ६६५ जना मानिस वर्षाका कारण प्रभावित हुने अनुमान
हाम्रा कुरा
प्रकाशित २०८२ असार २७ शुक्रबार
697
Shares
चितवन। चितवन जिल्ला यस वर्षको मनसुनमा बाढी र पहिरोको उच्च जोखिममा परेको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार, यहाँका २५ हजार ७३३ घरपरिवार अर्थात् १ लाख २८ हजार ६६५ जना मानिस वर्षाका कारण प्रभावित हुने अनुमान गरिएको छ।
जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक तथ्यांकले राप्ती नगरपालिकालाई सबैभन्दा बढी जोखिममा देखाएको छ, जहाँ १० हजार १०९ घरका ५० हजार ९५० जना प्रभावित हुने अनुमान गरिएको छ। यसैगरी, भरतपुर महानगरपालिकामा ६ हजार ६३५ घरका ३३ हजार १७५ जना, माडी नगरपालिकामा ३ हजार ९४६ घरका १९ हजार ७३० जना, र रत्ननगर नगरपालिकामा २ हजार ३८१ घरका ११ हजार ९०५ जना प्रभावित हुन सक्ने देखिएको छ। कालिका नगरपालिकामा १ हजार पाँच परिवारका ५ हजार २५ जना, खैरहनी नगरपालिकामा ३ सय २० परिवारका १ हजार ६०० जना, र इच्छाकामना गाउँपालिकामा १ हजार २५६ परिवारका ६ हजार २८० जना मानिस प्रभावित हुने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिए।
बाढीका कारण हुन सक्ने सम्भावित घटनाहरूलाई मध्यनजर गर्दै सुरक्षाका लागि सबै तयारी गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। उनले नदी किनारमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन अनुरोध गर्दै उद्धारका लागि आवश्यक जनशक्ति, खाद्यान्न, स्वास्थ्य सामग्री र अन्य उपकरणहरू तयारी अवस्थामा राखिएको जानकारी दिए।
यसैबीच, चितवनको बुढी राप्ती खोलामा पौडी खेल्ने क्रममा एक किशोरको डुबेर मृत्यु भएको छ। रत्ननगर नगरपालिका–९ का अन्दाजी १५ वर्षीय अनमोल लम्साल बुधबार दिउँसो करिब ३ बजेतिर साथीहरूसँग पौडी खेल्न गएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार, खोलाले चप्पल बगाउँदा समात्न जाने क्रममा लम्साललाई खोलाले बगाएको थियो। उनको शव घटनास्थलभन्दा करिब २०० मिटर तल फेला परेको थियो।