arrow

कञ्चनपुरमा जंगली हात्तीको त्रास: बालीनाली र मानव जीवन जोखिममा, नियन्त्रणमा चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
elephant-kanchanpur.jpg

कञ्चनपुर। भारतीय दुधुवा नेसनल पार्कबाट आएका जंगली हात्तीको बथान कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित चुरे फेदीका वन क्षेत्रमा प्रवेश गरेका छन्। विगतका वर्षहरूभन्दा चाँडै आइपुगेका यी हात्तीका कारण स्थानीय बस्ती र बालीनालीमा क्षति पुग्ने जोखिम बढेको छ।

हात्तीको बथान बस्ती नजिकैका वन क्षेत्रमा दैनिक देखिन थालेपछि स्थानीय सामुदायिक वनहरूले उपभोक्ताहरूलाई वन प्रवेशमा रोक लगाएका छन्। वातावरण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीले घाँस, दाउरा र सोत्तरका लागि वन जाने उपभोक्ताहरूलाई मानवीय क्षतिबाट बचाउन सचेत गराउँदै आएको बताए। बैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले हात्तीको गतिविधि नियाल्दै र मानव बस्तीमा प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिरहेका छन्। साँझबिहान वन क्षेत्र भएर आवतजावत गर्नेहरूलाई समेत रोक लगाइएको छ।

कम्तीमा १० देखि १५ वटाको संख्यामा रहेका यी हात्तीको बथानले विगत तीन वर्षदेखि बस्तीमा छिरेर मानवीय र भौतिक क्षति पुर्‍याउँदै आएको छ। किसानहरूले धान नभित्र्याउँदासम्म हात्ती चुरे क्षेत्रमै रहने र त्यसपछि धान, उखु, केरा लगायतका बालीमा नोक्सानी पुर्‍याउन तल्लो बस्तीमा झर्ने गरेको स्थानीयहरू बताउँछन्।

हात्ती नियन्त्रणका लागि मध्यवर्ती क्षेत्रका केही ठाउँमा ’मेसवायर’ जडान गरिए पनि हात्तीले त्यसलाई भत्काएर बस्ती प्रवेश गर्ने गरेका छन्। नगरपालिकाको वडा नं ७ का बासिन्दा दानसिंह कुँवरले सिमलफाँटा क्षेत्रमा सौर्य ऊर्जामा आधारित विद्युतीय करेन्ट छाड्ने मेसवायर जडान गर्न माग गरेका छन्, जसले हात्तीलाई भत्काउन नसक्ने र बालीनाली तथा जीउज्यान जोगाउन सकिने उनको भनाइ छ।

हात्तीको समस्याका कारण सिमलफाँटाका धेरै बासिन्दाले खेतबारीमा लगाएको अन्न भित्र्याउन नपाई रोजीरोटीका लागि भारततर्फ जानुपरेको कुँवर बताउँछन्। हात्ती नियन्त्रणका लागि वडादेखि नगरसम्म ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको उनको गुनासो छ। हात्तीको बथान धानबाली भित्र्याइसकेपछि मात्र दुधुवा नेसनल पार्कतर्फ फर्किने र गहुँबाली हरियो हुन थालेपछि पुनः यी क्षेत्रमा आउने गरेको स्थानीयले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ