arrow

प्रतिनिधि सभा

नेपालको विद्युत उत्पादन क्षमता ३५ सय ६५ मेगावाट पुग्यो: ऊर्जामन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
deepk-khadka-10.jpg

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपालको कुल विद्युत उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट पुगेको जानकारी दिएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले यस्तो बताएका हुन्।

मन्त्री खड्काले नेपालमा जलविद्युतको कुल सम्भाव्यता करिब ८३ हजार मेगावाट रहेको र विभिन्न अध्ययनले ६२ हजार मेगावाट आर्थिक तथा प्राविधिक रूपमा उत्पादन गर्न सकिने देखाएको उल्लेख गरे। उनले विद्युत उत्पादन क्षमतामा भएको वृद्धिलाई विगतको अवस्थाको तुलनामा उत्साहजनक उपलब्धि मान्दै यसले लोडसेडिङको अन्त्य गरी मुलुकलाई ऊर्जा आत्मनिर्भरतातर्फ अग्रसर गराएको विश्वास व्यक्त गरे।

"जलविद्युत आयोजनाले मुलुकको आर्थिक विकास, क्षेत्रीय ऊर्जा व्यापार तथा दिगो भविष्यको आधार निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने छ भन्ने हाम्रो विश्वास छ," मन्त्री खड्काले भने। उनले विद्युत उत्पादन क्षमतामा आएको वृद्धि, राष्ट्रिय प्रसारण लाइनको विस्तार, निजी तथा विदेशी लगानीकर्ताको सहभागिताले ऊर्जा उत्पादन र आपूर्ति प्रणालीलाई सन्तुलनतर्फ उन्मुख गरेको पनि बताए।

यद्यपि, मन्त्री खड्काले नेपालमा वर्षायाममा क्षमताभन्दा बढी र हिउँदमा एक तिहाइ मात्र विद्युत उत्पादन गर्न सकिने चुनौती रहेको पनि स्वीकार गरे। उनले विद्युत उत्पादन कम हुने समयमा आन्तरिक मागको आपूर्ति गर्न छिमेकी मुलुक भारतबाट विद्युत आयात गर्दै आएको जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ