राप्रपाको माग: भ्रष्टाचार आरोप लागेका मन्त्री गुप्तालाई तत्काल पक्राउ गरी छानबिन गरियोस् [भिडियो]
भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानू
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३१ मंगलबार
931
Shares
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भ्रष्टाचारको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल पक्राउ गरी छानबिन गर्न माग गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद शाहीले सार्वजनिक भएको मन्त्रीको अडियो प्रकरणको छानबिनका लागि सम्बन्धित मन्त्रीलाई पक्राउ गर्नुपर्नेमा जोड दिए।
सांसद शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयका निकायहरू समेत भ्रष्टाचारजस्तो गम्भीर विषयमा मौन रहेको भन्दै आपत्ति जनाए। उनले वर्तमान सरकारले भ्रष्टाचार गरेर विश्व कीर्तिमान राखेको भन्दै व्यंग्यात्मक टिप्पणी पनि गरे।
"पहिले पहिले एउटा चलन थियो, अहिले पनि छ। ज्ञान नपाए काँसी जानू, न्याय नपाए गोरखा जानू, भ्रष्टाचार गर्न नपाए केपी ओली सरकारको क्याबिनेटमा आउनू!" शाहीले भने, "मन्त्रीको अडियो टेप आएको छ, पैसा बुझाएको छ, मन्त्रीले राजीनामा दिएर स्वीकृत हुन्छ? हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनाएका छौँ यो देशमा। आयोगले के गरेर बसेको छ सम्माननीय सभामुख महोदय? गृह मन्त्रालयगतका युनिटहरूले के हेरेर बसेका छन्? मन्त्रीले राजीनामा दिने बित्तिकै समस्या समाधान हुन्छन्? मन्त्रीलाई तत्काल पक्राउ गरियोस् र छानबिन गरियोस्। त्यति मात्र होइन अन्य मन्त्रीमाथि पनि छानबिन गरियोस्।"
उनले ज्ञान नपाए गोरखा तथा भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानू भन्दै व्यंग्यात्मक टिप्पणी समेत गरे।