'सत्ता हस्तान्तरणको दिन गनेर नबस्नुहोस्', सरकारलाई काममा केन्द्रित हुन गगन थापाको आग्रह [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १ बिहिबार
826
Shares
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई सत्ता हस्तान्तरणको दिन गनेर नबस्न आग्रह गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ’नेपाली कांग्रेसको युवा केन्द्रित आर्थिक नीति तथा योजना विषयक संवाद गोष्ठी’ लाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्।
थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले केही पटक अब एक वर्ष आफ्नो नेतृत्व रहने र त्यसपछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने गरेको भनाइको सन्दर्भ उल्लेख गर्दै, अबको समय सत्ता हस्तान्तरणको दिन गनेर बस्ने नभएको बताए। उनले सुरुमा दुई वटा पार्टी मिलेर राम्रो कामको सुरुवात गरे पनि अहिले सरकार बरालिएको आरोप लगाए।
"अहिले हामी २०८२ सालमा छौँ। २०८४ सालसम्म हामी नेपालको लार्जेस्ट पार्टी छौँ। सरकारमा छौँ। यो दुई वर्षको समय खेर फाल्ने समय हामीसँग छैन," महामन्त्री थापाले भने, "प्रधानमन्त्रीजीले बेला बेलामा के भनेको सुन्छु भनेः अब एक वर्ष म हुन्छु, एक वर्षपछि कांग्रेसलाई सरकारको नेतृत्व सुम्पिन्छु। त्यो हिसावकिताबको बारेमा अब कुरा नगरौँ।"
थापाले सरकार भनेको दिन गनेर बस्ने नभई ’०८४’ सम्मका प्रत्येक दिन काम गरेर देखाउनुपर्ने बताए। "सरकार भनेको दिन गनेर बस्ने हो र? अनि के हामी ३६५ दिन नै घट्यो, ६४ भयो, ६३ भयो। हाम्रो पालो आयो भनेर औँला भाँच्दै बस्ने हो र?" उनले प्रश्न गरे, "हामीले सुन्न र गर्न चाहेको कुरा, यो तीन वर्ष हामी के गर्छौं भन्ने हो। एक वर्ष के गर्ने, एक वर्ष नेपालले के पाउने? अर्को इलेक्शनसम्मको एक एक दिनको प्रयोग हामीले गर्नुपर्छ।"
उनले सुरुमा सरकारले मेहनत गरेको र गति लिएको भए पनि अहिले बरालिएको टिप्पणी गर्दै यसबाट बाहिर निस्कनुपर्नेमा जोड दिए। थापाले कांग्रेस २०८४ सम्म देशको सबैभन्दा ठूलो पार्टी रहेको र अहिले सरकारमा रहेकाले यो समय खेर फाल्न नहुने बताए। उनले ’०८४’ सम्म स्थानीय सरकार, प्रदेश र केन्द्र सरकार सबैले जनताले महसुस गर्नेगरी काम गरेर देखाउनुपर्नेमा जोड दिए।