arrow

आन्तरिक राजस्व कार्यालय वीरगञ्जले लक्ष्यभन्दा बढी सङ्कलन गर्‍यो राजस्व

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ४ आइतबार
birjung-custom-office.jpg

काठमाडौँ । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्षमा आफ्नो लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरी उल्लेख्य सफलता हासिल गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो सङ्कलनमा निकै सुधार देखिएको छ।

कार्यालयले गत आर्थिक वर्षमा रु ९ अर्ब ४५ करोड ९५ लाख ७ हजार राजस्व सङ्कलन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा रु २ अर्ब ५८ करोड बढी हो। कार्यालयका प्रमुख कर अधिकृत टीका राज चौलागाईंका अनुसार, राजस्व सङ्कलनको वृद्धिदर ३५.५७ प्रतिशत रहेको छ।

आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षका लागि कार्यालयलाई रु ८ अर्ब ७१ करोड ८२ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो। तर, कार्यालयले लक्ष्यको १०९ प्रतिशत हासिल गर्दै ’एक प्लस’ स्तर प्राप्त गर्न सफल भएको चौलागाईंले बताए। यसको तुलनामा, आव २०८०/८१ मा रु ९ अर्ब ४१ करोड ९७ लाखको लक्ष्य रहे पनि कार्यालयले ७२.९३ प्रतिशत अर्थात् रु ६ अर्ब ८७ करोड मात्र सङ्कलन गर्न सकेको थियो।

प्रमुख कर अधिकृत चौलागाईंले यो सफलताको मुख्य कारण बक्यौता रकम असुलीमा गरिएको कडाइ भएको बताएका छन्। चैत महिनामै राजस्व नबुझाउने करदाताहरूको बैंक खाता, घरजग्गा, र आयात–निर्यात रोक्का गर्ने जस्ता कडा कदमहरू चालिएपछि राजस्व सङ्कलनमा ठूलो सहयोग पुगेको उनको भनाइ छ। यसका साथै, कार्यालयले सघन बजार अनुगमनको दायरा विस्तार र करदाता शिक्षा लगायतका चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दा पनि राजस्व वृद्धि भएको चौलागाईंले स्पष्ट पारे।

अन्तःशुल्क करमा कार्यालयले रु ३ अर्ब ९ करोड ५७ लाखको लक्ष्य राखेकोमा रु ४ अर्ब १३ करोड ७३ लाख सङ्कलन गरेको छ। आयकरतर्फ रु २ अर्ब ८९ करोड ९९ लाखको लक्ष्य रहेकामा रु ३ अर्ब १० करोड १५ लाख सङ्कलन भएको छ।

यद्यपि, मूल्य अभिवृद्धि करतर्फ (VAT) भने लक्ष्यअनुसार सङ्कलन हुन सकेको छैन। रु २ अर्ब ५८ करोड ८७ लाखको लक्ष्य रहेकामा रु २ अर्ब १२ करोड ९१ लाख मात्र सङ्कलन भएको छ। चौलागाईंका अनुसार, यसको मुख्य कारण १५ वटा ठूला करदाताको कारोबारको सीमा नाघेर ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयमा स्थानान्तरण हुनु हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ