यस वर्ष देशभर ७२ प्रतिशत रोपाइँ सम्पन्न, गत वर्षभन्दा १२ प्रतिशत कम
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ६ मंगलबार
560
Shares
काठमाडौँ। यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले कम हो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार, हालसम्म देशभर करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सकिएको छ। मुलुकमा कुल १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने गर्दछ।
मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले दिएको जानकारीअनुसार, सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ, जहाँ १ लाख ७१ हजार हेक्टरमा रोपाइँ भइसकेको छ। यसैगरी, कर्णाली र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत, र बागमती प्रदेशमा ८७ प्रतिशत रोपाइँ सकिएको छ, जसमा १ लाख ५ हजार हेक्टर क्षेत्रफल समेटिएको छ। यदि मौसमको प्रतिकूलताले असर नदेखाएमा साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान मन्त्रालयले गरेको छ। गत वर्ष यसै अवधिमा करिब ८४ प्रतिशत धान रोपाइँ भएको थियो।
नेपालमा धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ, जसले कुल उत्पादनको ७० प्रतिशत योगदान गर्दछ। पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ।
आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो। मौसमको प्रतिकूलता, दैवी प्रकोप, अतिवृष्टि तथा अनावृष्टिले रोपाइँमा नकारात्मक प्रभाव पारी कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ। यद्यपि, पछिल्लो पटक विकास भएका ज्ञान, सीप, प्रविधि तथा उन्नत जातका बीउबिजनको विकासका कारण उत्पादन वृद्धि हुने अनुमान गरिएको छ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार, धान उत्पादनमा करिब १० प्रतिशतले घटबढ भएमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतले घटबढ हुने गर्दछ। यस वर्ष स्वदेशमा उत्पादन हुने अनुमान गरिएको ६० लाख मेट्रिकटन धानबाट करिब ३५ लाख मेट्रिकटन खानयोग्य चामल बन्ने सूचना अधिकारी जोशीले बताएका छन्।