arrow

प्रतिनिधि सभा

'मानव बेचबिखन तथा ओसारपसार' प्रस्ताव सर्वसम्मतिले स्वीकृत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
parliament-82-2-2o.jpg

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले उक्त प्रस्ताव पेस गरेका थिए।

विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री सुडीले यसको महत्त्वमा जोड दिए र आवश्यक सुधारसहित अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। विधेयकको सैद्धान्तिक छलफलमा विभिन्न सांसदहरूले आ-आफ्नो धारणा राखेका थिए।

आजको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।

यसअघि, बैठकमा सभामुखको आसनबाट सांसद दुर्गा राईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएकी थिइन्।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन ९ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ