arrow

प्रतिनिधि सभा

रास्वपालाई कांग्रेसको कटाक्ष -‘भिजिट भिसाबाटै उपप्रधानमन्त्री बनेकाले चिन्ता लिनु पर्दैन’

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
shayam-ghimireys.jpg

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसाको नाममा भइरहेको अनियमितताप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धेरै चिन्ता लिनु नपर्ने बताएका छन्। उनले भिजिट भिसामा विदेश गएर त्यहीँको नागरिकता लिई नेपाल फर्केर उपप्रधानमन्त्रीसम्म बनेको अभ्यास भइसकेको भन्दै रास्वपालाई कटाक्ष गरे।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै घिमिरेले विगत दुई महिनादेखि भिजिट भिसाको विषयलाई लिएर संसद अवरुद्ध गर्दै आएको रास्वपा र रास्वपा सभापति रवि लामिछानेप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्। उनले भिजिट भिसाकै कारण अहिलेको उपलब्धि प्राप्त गर्नेहरूले यसबारे धेरै चिन्ता गर्न नसुहाउने बताए।

घिमिरेले दाबी गरे कि, भिजिट भिसामा विदेश जाने, उतैको नागरिकता लिने, उतै घरजम गर्ने र स्वदेश फर्केर दुई-चार वटा 'काण्ड' मच्चाएपछि पार्टी खोलेर गृहमन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म बन्ने काम रास्वपाबाटै भएको छ। उनले रास्वपामा धेरै नेता र सांसदहरू भिजिट भिसाबाटै अहिलेको स्थितिमा आएको आरोपसमेत लगाए।

"संसदमा झन्डै दुई महिनादेखि केही साथीहरूले धेरै चिन्ता व्यक्त गरिरहनुभएको छ," घिमिरेले भने, "धेरै चिन्ता गर्न आवश्यक छैन। हामीले एउटा अभ्यास गरिसकेका छौँ। भिजिट भिसामा यहाँबाट बाहिर जाने, त्यहीँको नागरिकता लिने, त्यहीँ घरजम गरेर बस्ने, केही समयपछि नेपाल फर्किने, दुई चार वटा अरु काण्ड पनि मच्चाउने, पार्टी खोल्ने त्यसपछि गृहमन्त्री, अन्य विभिन्न मन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म हुने अभ्यास हामीले गरिसकेका छौँ। किन चिन्ता गर्नुहुन्छ? भोलि भिजिट भिसामा जाने साथीहरूले त्यही अभ्यास दोहोर्‍याउलान् नि त।"

उनले आफूलाई आश्चर्य लागेको भन्दै, "जुन पार्टीको धेरै सांसद, धेरै नेताहरू यही भिजिट भिसाबाट आज यो ठाउँसम्म आइपुग्नुभएको छ, यो सफलताको श्रेणी उक्लिनुभएको छ, त्यही साथीहरू भिजिट भिसाको बारेमा सबैभन्दा बढी चिन्तित भएको पाएको छु।"

यद्यपि, घिमिरेले भिजिट भिसामा गएर उतै घरजम गर्नु, उतैको नागरिकता र पासपोर्ट लिनु अन्तर्राष्ट्रिय कानुनअनुसार गलत कार्य भएको र कुनै पनि देशले यसलाई राम्रो नमान्ने स्वीकार गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ