प्रतिनिधि सभामा सांसदहरूको आवाज: खडेरी, अनियमितता र पूर्वाधारका मुद्दामा सरकारको ध्यानाकर्षण
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
1.9k
Shares
काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले समयमा वर्षा नहुँदा तराई–मधेसमा देखिएको खानेपानी तथा सिँचाइको अभाव र त्यसबाट प्रभावित किसानका लागि तत्काल राहत कार्यक्रम घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले किसानलाई विद्युत् महसुल छुटलगायतका सुविधा उपलब्ध गराउनसमेत जोड दिएका छन्।
नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सिँचाइ प्रयोजनका लागि प्रयोग हुने विद्युत्को महसुलमा छुटको माग गर्दै अव्यवस्थित विद्युतीय संरचनाका कारण करेन्ट लागेर किसानले ज्यान गुमाउनु परेको दुःखद अवस्थाबारे सदनलाई जानकारी गराए। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद रामप्रकाश चौधरीले तराई–मधेसका खडेरी प्रभावित किसानका लागि तत्काल राहत तथा अनुदानको प्याकेज घोषणा गर्न सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराए।
सांसद योगेन्द्र मण्डलले खडेरीले किसानलाई आक्रान्त बनाएको र न्यून भोल्टेजका कारण सिँचाइका लागि पर्याप्त विद्युत् प्रयोग गर्न नसकेको अवस्था प्रस्तुत गरे। जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रकाश अधिकारीले जलवायु परिवर्तनका बढ्दो असरलाई मध्यनजर गर्दै सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेका जिल्लामा विशेष राहतका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। उनले बोरिङ सञ्चालनमा विद्युत् कटौती र ट्रान्सफर्मर चोरीका समस्या तथा खानेपानीको निरन्तर बढ्दो अभावबारे पनि सदनमा ध्यानाकर्षण गराए। नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले धानबाली सुक्न थालेकाले सुख्खाग्रस्त सबै क्षेत्रको पहिचान गरी किसानलाई राहत उपलब्ध गराउन आग्रह गरे।
अन्य महत्त्वपूर्ण राष्ट्रिय मुद्दाहरू
चुनढुङ्गा खानी विवाद: नेकपा (एमाले) का सांसद इश्वरबहादुर रिजालले दोलखा जिल्लाको चुनढुङ्गा खानीलाई सिन्धुपाल्चोकमा पर्ने भनी भइरहेको गलत प्रचारलाई सच्याउँदै खानी दोलखामै पर्ने स्पष्ट पारे।
विकास र अनियमितता: नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीमगरले रुकुमका स्थानीय सडकहरू वर्षाले क्षतिग्रस्त भएको र मध्यपहाडी राजमार्ग निर्माणमा ढिलाइ भएकोमा सरकारको ध्यानाकर्षण गराए। उनले वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निश्चित व्यक्ति लक्षित मात्रै मुद्दा दायर भएको विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गरे।
स्वास्थ्य र दुर्घटना: नेकपा (एमाले) का सांसद भगवती चौधरीले जमिनमुनिको पानीको गुणस्तर परीक्षण नहुँदा उपभोक्ताले असुरक्षित पानी प्रयोग गरिरहेको विषय उठाइन्। एमालेकै सांसद चन्द्रबहादुर विश्वकर्माले बढ्दो सवारी दुर्घटनामा घाइते भएका व्यक्तिको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरे।
भिजिट भिसा र तिनकुने घटना: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक आयोग वा संसदीय छानबिन समितिको माग दोहोर्याउँदै यसमा अन्तर्राष्ट्रिय चासो बढेको जनायो। रास्वपा सांसद विनिता कठायतले जुम्लाका स्याउ किसानले बिमा दाबी भुक्तानी नपाएको विषय पनि उठाइन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद डा. धवलशमशेर जबराले चैत १५ गतेको तिनकुने घटनाबारे निष्पक्ष छानबिन र फैसलाको विश्वास व्यक्त गर्दै राज्यबाट अत्यधिक बल प्रयोग भएको आरोप लगाए।
राजनीतिक कटाक्ष र ट्राफिक व्यवस्थापन: नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरणलाई लिएर विरोध जनाइरहेको रास्वपालाई कटाक्ष गर्दै रास्वपाका सभापति रवि लामिछाने स्वयं भिजिट भिसामा अमेरिका गएको, नेपाली नागरिकता त्यागेको र पुनः नेपाल फर्केर सक्रिय भएको आरोप लगाए। नेकपा (एमाले) का सांसद सूर्यप्रसाद ढकालले काठमाडौंको सवारीसाधन अस्तव्यस्तता र जामको समस्या समाधानका लागि रातिको समयमा व्यापार व्यवसाय सञ्चालन गर्ने र शैक्षिक संस्था बिहान–बेलुका खोल्नेजस्ता व्यवस्था गर्न सुझाव दिए।