बागमती प्रदेशका मुख्यमन्त्री लामाले गरे तीन मन्त्री नियुक्त
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १४ बुधबार
711
Shares
काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन जना नयाँ मन्त्री नियुक्त गरेका छन्। यो नियुक्तिसँगै मुख्यमन्त्री लामामाथि अविश्वासको प्रस्ताव दर्ता भएको हो।
मुख्यमन्त्री लामाले गोविन्द लम्साल, माया श्रेष्ठ, र गीता गुरुङलाई मन्त्री पदमा नियुक्त गरेका हुन्। नव नियुक्त मन्त्री लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। यद्यपि, माया श्रेष्ठ र गीता गुरुङको मन्त्रालयगत जिम्मेवारी भने अझै तोकिन बाँकी छ।
बागमती प्रदेशमा नेपाली कांग्रेसले सम्हालेका पाँच वटा मन्त्रालय मन्त्रीविहीन रहेका थिए। गोविन्द लम्साल आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसकेपछि पनि युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिँचाइ, र सहकारी तथा गरिबी निवारण मन्त्रालयहरू अझै नेतृत्वविहीन छन्।
स्मरण रहोस्, साउन ९ गते चार जना र साउन १३ गते एक जना गरी कुल पाँच जना मन्त्रीले राजीनामा दिएर मुख्यमन्त्री लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए। यो नियुक्तिलाई मुख्यमन्त्रीले आफ्नो पक्षमा बहुमत कायम राख्न गरेको प्रयासका रूपमा हेरिएको छ।