काठमाडौँ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप-३०) का लागि नेपालले तयारी शुरु गरेको छ। आगामी नोभेम्बर १० देखि २१ सम्म ब्राजिलको बेलेममा हुने यस सम्मेलनमा नेपालले आफ्नो मुद्दा सशक्त रूपमा उठाउने तयारी गरेको हो।
वन तथा वातावरण मन्त्रालयले शुक्रबार ब्राजिलका राजदूतसहित सरोकारवाला निकायहरूसँग बैठक गरी कोप-३० को तयारी थालेको छ। मन्त्री ऐनबहादुर शाही ठकुरीले विगतका अनुभवलाई ध्यानमा राख्दै चुस्त टोलीसहित सम्मेलनमा सहभागी हुने बताए। उनले नेपालले जलवायु वित्त, कार्बन व्यापार, जलवायु अनुकूलन र न्यूनीकरण, र जलवायुजन्य हानि नोक्सानी लगायतका विषयमा सशक्त आवाज उठाउने जानकारी दिए।
नेपालले गत जेठमा सम्पन्न गरेको सगरमाथा संवाद का निष्कर्ष ‘सगरमाथा आह्वान’ को हिमाल संरक्षणलगायतका विषयलाई सम्मेलनमा जोडदार रूपमा उठाउनेछ। मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. महेश्वर ढकालले सम्मेलनका लागि राष्ट्रिय अवधारणा पत्र, प्रतिनिधि मनोनयन, अन्तरमन्त्रालय समन्वय लगायतका विषयमा छलफल गरिने जानकारी दिए।
अध्ययनहरूका अनुसार, पेरिस सम्झौताले पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिने लक्ष्य राखे पनि हिमाली क्षेत्रको तापक्रम सन् २०५० अगावै १.८ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ। यसले हिमालका दुई तिहाई हिम भण्डार पग्लने जोखिम बढेको छ।
युथ एलायन्स फर इन्भाइरोन्मेन्टका अध्यक्ष सनोत अधिकारीले यस सम्मेलनमा नेपालले युवाका विषयका साथै जलवायु वित्त र हानि नोक्सानी कोषमा पहुँच जस्ता मुद्दाहरूमा जोड दिनुपर्ने सुझाव दिए।
कोप-३० मा नेपालबाट राष्ट्रप्रमुख वा सरकार प्रमुखको तहमा उच्चस्तरीय सहभागिता जनाउने गरी तयारी भइरहेको छ। सम्भवतः प्रधानमन्त्री केपी शर्मा ओली को नेतृत्वमा नेपालले सहभागिता जनाउनेछ। यसअघि पनि नेपालले पाँचवटा कोप सम्मेलनमा उच्चस्तरीय प्रतिनिधित्व गरिसकेको छ।
कूटनीतिक विज्ञहरूका अनुसार, उच्चस्तरीय प्रतिनिधित्वले सम्बन्धित मुलुकले सम्मेलनलाई कति गम्भीरतापूर्वक लिएको छ भन्ने सन्देश दिन्छ र यसले निर्णय क्षमता तथा कार्यान्वयनमा ठूलो महत्त्व राख्छ।