सचिव चढेको गाडीको चाबी खोस्ने मन्त्रीले दिए प्रष्टिकरण [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
715
Shares
इटहरी । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खनेनसिं हांगामले आफूले सचिव डा.शरणकुमार पाण्डे चढेको गाडीको चाबी खोसेको सन्दर्भमा प्रष्टिकरण दिएका छन् ।
बुधबार ताप्लेजुङ पुगेर मन्त्री हाङ्गामले सञ्चारकर्मीसँग प्रष्टिकरण दिएका हुन् ।
मन्त्री हाङ्गामले भने, ‘उहाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबारको सहसचिवको रूपमा सरुवा हुनुभयो । सहसचिवको रूपमा सरुवा भइसकेपछि, कोशी प्रदेशमा मुख्यमन्त्री कार्यालयमा रहँदा हाम्रो मन्त्रालय, उद्योग, कृषि, सहकारी मन्त्रालयको गाडी, चालक, क्वाटर सबै प्रयोग गर्दै आउनु भो, बाहिरबाहिर हिँड्नु भो, मसँग नभेटेको २० देखि २५ दिन भयो । मन्त्रालयमा उहाँ सचिव कामकाजको रूपमा अहिलेसम्म खटिएको छैन ।’
उनले पत्रकार र सर्वसाधारणहरुले पूर्व सचिवले चढेको गाडी, चालक र क्वाटरहरु कस्तो अवस्थामा छ भनेर सोध्यो भने जवाफदेही हुनुपर्ने हिसाबले र आफ्नो मातहतमा रहेको कार्यालय र कर्मचारीमा सुशासन कायम गर्ने हिसाबले उक्त कार्य भएको बताए ।
उनले भने, ‘भोली पत्रकार र सर्वसाधारणहरुले तपाईंको पूर्वसचिवले चढेको गाडी, चालक र क्वाटरहरु कस्तो अवस्थामा छ भनेर सोध्यो भने भन्ने, हिसाबले मेरो मातहतमा रहेको कार्यालय र कर्मचारीमा सुशासन कायम गर्ने हिसाबले पनि मैले जवाफदेही हुनुपर्छ । हाम्रो जिन्सी शाखा शाखामा गाडीको चाबीहरू राख्ने गरिन्छ र त्यहाँ चालकलाई जिन्सी शाखा मार्फत बोलाएर, उहाँलाई चाबी त्यहाँ बुझाएर गाडी हाम्रो मन्त्रालयको परिसरभित्र राखिएको अवस्था हो र कर्मचारीलाई सुशासन कायम गर्नलाई सेवाको हिसाबले सधैँ चुस्तदुरुस्त सेवाको लागि हामीले जहिले निर्देशन दिने गरिन्थ्यो तर कर्मचारीसँग मेरो कुनै पनि किसिमको पूर्वाग्राही ढङ्ग राख्ने र त्यसमा विशुद्धताका साथ हेर्ने चलन छैन ।’