देउखुरी। जेनजी आन्दोलन दोस्रो दिन सोमबार दाङको घोराही र तुलसीपुरका सरकारी कार्यालय तथा राजनीतिक दलका भवनमा आगजनी र तोडफोड गरेका छन्।
तुलसीपुर उपमहानगरपालिका, मालपोत, उच्च अदालत, आन्तरिक राजस्व, इलाका प्रशासन, नगर विकास समिति र कारागारसहितका सरकारी कार्यालयमा आगजनी गरिएको छ। एमाले, काँग्रेस र माओवादीका पार्टी कार्यालय पनि ध्वस्त पारिएका छन्। कारागारका बन्दीसमेत भगाइएको छ।
प्रदर्शनकारीले एमाले महासचिव शङ्कर पोखरेल, नेता कोमल वली, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, काँग्रेस नेता गेहेन्द्र गिरी, पूर्व मन्त्रीहरू हिराचन्द्र केसी र दीपक गिरीको घरमा समेत आगजनी तथा तोडफोड गरेका छन्।
सुरुआतमा शान्तिपूर्ण देखिएको प्रदर्शन दिउँसोदेखि हजारौँको सहभागितासहित हिंसात्मक बनेको हो । प्रहरी नियन्त्रण बाहिर देखिएको यस घटनामा घोराहीमा घरेलु कार्यालय, मालपोत कार्यालय, शिक्षा समन्वय समिति, जिल्ला समन्वय समिति, नेपाल बार एसोसिएसन, जिल्ला अदालत, घोराही उपमहानगरपालिका, जिल्ला ट्राफिक कार्यालयलगायतका कार्यालयमा तोडफोड र आगजनी भएको छ।