arrow

प्रधानसेनापतिले दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्ता गर्नुस् भनेपछि बाहिरिएको जेन-जी अभियन्ता बमको भनाइ 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
rakchaya-bam-genZ.jpg

काठमाडौँ | जेन-जी अभियन्ता रक्षा बमले राष्ट्रपतिसँग भेट्न बोलाएर प्रधानसेनापति अशोकराज सिग्देलले दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्ता गर्नुस् भनेपछि आफूहरू सैनिक मुख्यालयबाट बाहिरिएको बताएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिँदै उनले यसो गर्दा जेन-जी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले प्रधानसेनापतिको प्रस्तावलाई अस्वीकार गर्दै उनीसँगै गएका केही जेन-जीहरू त्यहाँबाट बाहिरिएको बताएकी हुन् । 

रक्षाले लेखेकी छिन्, ‘राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्नुस्, उहाँहरू पनि स्टेकहोल्डर हो भनेर स्वयं प्रधानसेनापतिले भने सकेपछि जेन-जी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्तावलाई अस्वीकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदर्शनकारी जे-जी समूहसँग छलफलका निम्ति तयारी गरिरहेका छौँ ।’ 

उनले आफूहरू मंगलबार पनि प्रधानसेनापतिलाई भेट्न कुनै माग लिएर नगएको सामाजिक सञ्जालमै लेखेकी छिन् । 

उनले लेखेकी छिन्, 'हामी न हिजो वार्तामा थियौँ, न आज छौँ। हिजो पनि हामी कुनै मागहरू लिएर  Army Chief लाई भेट्न गएका थिएनौं।हिजो हाम्रो स्पष्ट भनाइ यही थियो – हामीलाई हाम्रो मागहरू तयार गर्न समय चाहिन्छ। हामी ७७ जिल्लाबाट आएका सम्पूर्ण जेन–जेड प्रदर्शनकारीका प्रतिनिधिहरू मिलेर एउटै संयुक्त दस्तावेजमा काम गर्नेछौँ, हामी सबै एकै ठाउमा आएर आफ्नो माग राख्नेछौ, सबैसँग सम्पर्क गर्नेछौं र केही दिनभित्र राष्ट्रपति सहित Army Chief समक्ष सबैको प्रतिनिधित्व गर्ने मागसहित उपस्थित हुनेछौँ भन्ने सहमतिसहित मात्र हामी बाहिरिएका थियौँ। जेन जीका मागहरू, राज्यको आगामी बाटो जेन जी ले तय गर्नुपर्छ भन्ने हाम्रो मुख्य अडान थियो। आज पनि हामी नेपाली सेनाको मुख्यालयमा अन्य जेन–जेड समूहसँग छलफल गर्न गएका थियौँ। तर आन्दोलनको बेसिक नर्मस् विरूद्ध छलफल अघि बढाईन थालेपछि म र केही साथीहरू तत्काल बाहिरियौँ। जेन जी आन्दोलनको कुनै लिडर छैन यो हामी सबैलाई थाहभएकै कुरा हो ।यो आन्दोलनलाई विभिन्न जेन जी कै समुहले लिड गरेको हो । तसर्थ अहिले वार्तामा रहेका जेन–जेड साथीहरूको धारणा वा अडानबारे म पूर्ण रूपमा अनविज्ञ छु।धन्यवाद !'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ