काठमाडौँ। नेपालमा हालै विकसित घटनाक्रमबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन्।
सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपालमा भएको हिंसा, मानवीय क्षति र आगजनीलाई अस्वीकार्य बताएका छन्। उनीहरूले पीडित र उनीहरूको परिवारजनप्रति गहिरो सहानुभूति व्यक्त गर्दै नागरिकको विरुद्ध दमन गर्नेहरूलाई जवाफदेही बनाउन पनि अपिल गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, "नेपालले विगत दुई दशकमा प्रजातान्त्रिक अभ्यासको महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ, नागरिकको कडा योगदानले प्राप्त उपलब्धिहरूको रक्षा गर्नु आवश्यक छ।"
अमेरिकी सिनेटरहरूले शान्त, पूर्ण प्रजातान्त्रिक र गतिशील नेपाल नै नेपाली, अमेरिका र यस क्षेत्रको साझा चासो भएको उल्लेख गरेका छन्। उनीहरूले नेपाल सरकारले नागरिकको विश्वास जित्नका लागि भ्रष्टाचार नियन्त्रण र संस्थागत कमजोरीलाई सम्बोधन गर्ने विश्वास पनि व्यक्त गरेका छन्।