arrow

जेन-जी आन्दोलनमा दुई दर्जन होटल क्षतिग्रस्त, २५ अर्बको नोक्सानी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २७ शुक्रबार
Dron-Short_after-protest-sept10.jpg
तस्बिर : फाइल

काठमाडौँ । होटल संघ नेपालले जेन-जी आन्दोलनको क्रममा देशभर करिब दुई दर्जन होटलमा ठूलो क्षति पुगेको जनाएको छ । प्रारम्भिक अनुमान अनुसार आर्थिक नोक्सानी करिब २५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

संघका अनुसार काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, विराटनगर, धनगढी, महोत्तरी, तुल्सीपुरलगायतका क्षेत्रमा सञ्चालित स्वदेशी र विदेशी ब्रान्डसहितका चर्चित होटल प्रत्यक्ष प्रभावित भएका छन् ।

प्रारम्भिक तथ्यांक अनुसार काठमाडौंस्थित हिल्टन होटलमा मात्रै करिब आठ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

जसलाई समेत समेट्दा देशभर करिब २५ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।

संघले भनेको छ कि प्रभावित होटल मर्मत र पुनर्निर्माण नगरी सञ्चालनमा ल्याउन नसकिने भएकाले करिब दुई हजारभन्दा बढी कामदार तथा कर्मचारीको रोजगारीमा प्रत्यक्ष असर परेको छ ।

चाडपर्वको समयमा रोजिरोटी प्रभावित भएकाले होटलले बैँक तथा अन्य वित्तीय संस्थासँगको ऋण तथा आर्थिक दायित्व पूरा गर्न समस्या देखिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सुशासन, विकास र जनताले खोजेको मूलभूत परिवर्तनका लागि नवयुवाहरूले गरेका बलिदानका बीच प्रारम्भ भएको संक्रमणकालमा सार्वजनिक लगानीसहित निजी क्षेत्रका होटलहरूमा भएको यस किसिमको ठूलो क्षतिको यथाशीघ्र न्यायिक छानबिन हुनुपर्छ ।’

होटल संघले प्रभावकारी न्यायिक समिति गठन गरी दोषीलाई दण्ड र क्षतिपूर्ति सुनिश्चित गर्न, होटलहरूको मर्मत-पुनर्निर्माणका लागि राज्यबाट विशेष आर्थिक प्याकेज उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

संघले लगानीकर्ताको मनोबल जोगाउँदै आर्थिक स्थायित्व कायम गर्न र परिवर्तनकारी नयाँ युगसँगै पर्यटन विकासमा अघि बढ्न सरकारको सहकार्य आवश्यक भएको पनि उल्लेख गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ