सभामुख र राष्ट्रिय सभा अध्यक्षद्वारा संवैधानिक प्रक्रियाबाटै निकास खोज्न अपिल
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २७ शुक्रबार
966
Shares
काठमाडौं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकताका लागि संवैधानिक प्रक्रियाबाटै निकास खोज्न सबै पक्षलाई आह्वान गरेका छन्।
शुक्रबार एक संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता र भौगोलिक अखण्डतालाई शिरोपर गर्दै संविधानभित्रैबाट निकास खोज्ने कुरामा राष्ट्रपतिले पहल गरिरहेको बताएका छन्। उनीहरूले विधिको शासन र संविधानवादलाई मजबुत बनाउन संसदका दुवै सदन एकताबद्ध रहेको पनि उल्लेख गरेका छन्।
वक्तव्यमा भदौ २३ र २४ गते जेन-जी पुस्ताको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरिएको छ। साथै, आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
उनीहरूले देशमा विद्यमान विषम परिस्थितिमा सबै नेपालीलाई मिलेर अघि बढ्न र संवैधानिक प्रक्रियामार्फत नै शान्ति कायम गर्न आह्वान गरेका छन्।