काठमाडौँ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेले अहिलेसम्म १५ सय भन्दा बढी कैदीबन्दीलाई कारागारमा फर्काइएको बताएका छन् ।
उनले आज पनि कैदीबन्दी फर्किने र पक्राउ गरी ल्याउने क्रम जारी रहेकाले त्यो संख्या बढेको जानकारी दिएका छन् ।
जेन–जी आन्दोलनका कारण कैदीबन्दीलेसमेत विद्रोह गरेर जेलबाट भागेका थिए । यकिन तथ्याङ्क नभए पनि १४ हजारको संख्यामा कैदीबन्दी भागेको डीआईजी घिमिरेले बताए ।
जेन–जी आन्दोलनका कारण हत्यारा, बलात्कारी लगायतका जघन्य अपराधीसमेत बाहिरिएकाले तिनीहरुले फेरि जघन्य अपराधको कुकर्म गरेकोसमेत पाइएको छ ।
डीआईजी घिमिरेले कैदीबन्दीहरुको खोजी क्रम जारी रहेको बताएका छन् ।
केही कैदीबन्दीले जेलबाट बाहिरिन मानेका थिएनन् भने वृद्धवृद्धा, अपाङ्गता भएका र बालबालिका भने बाहिरिन सकेका थिएनन् ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले त्यस्ता भागेका कैदीबन्दीलाई धमाधम पक्राउ गरिरहेको छ ।
सबैभन्दा बढी ३४ सयको हाराहारीमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका थिए ।