arrow

आन्दोलनको मारमा ठमेल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २७ शुक्रबार
thamel-ktm.jpg

काठमाडौँ । सधैँ चाडपर्वको मुखमा भरिभराउ हुने काठमाडौँको पर्यटकीय हब ठमेल केही दिनयता सुनसान छ । कोभिडपछि तग्रिदै गएको पर्यटन आन्दोलनले पुनः प्रभावित भएको छ । जसको प्रत्यक्ष मार ठमेलका होटल, लज, रेष्टुरेन्ट, पब, दोहोरी, ट्राभल एजेन्सीदेखि फुटपातका व्यापारीले खेपिरहेका छन् । 

चाडपर्वको मौसम घुमघामका लागि उपयुक्त हुने भएकाले हिमाल चढ्न र ट्रेकिङमा जाने विदेशी पर्यटकका कारण खचाखच हुने गरेको थियो । तर नेपालको अस्थिर राजनीतिका कारण पर्यटकले होटल र ट्रेकिङको बुकिङ समेत क्यान्सिल गर्न थालेको व्यवसायी बताउँछन् । 

केही दिन यता जेन-जी आन्दोलनका नाममा भएको विध्वंशले नेपालको पर्यटन क्षेत्रमा नराम्ररी असर परेको छ । त्यसको मारमा परेको छ ठमेल र दरबारमार्ग क्षेत्र ।

तर ठमेलका व्यापारीहरुका मनमा आज होला कि भोलि होला भन्ने आश मारेका छैनन् । कोभिडपछि व्यापार व्यवसाय फस्टाउनै नसकेको व्यवसाय थोरै राम्रो होला जस्तो थियो तर आन्दोलनका कारण व्यवसाय ओरालो लागेको ठमेलका कपडा पसले जीवन रुवाली बताँउछन् । 

उनले आन्दोलनपछि आवातजावतमा कडाइ भएपछि व्यवसाय ठप्प भएको बताए । ‘३० बर्षको अवधिमा धेरै कठिनाई भोगेका छौँ । तर हिम्मत हारेका थिएनौँ । तर यो चाडपर्वकै मुखमा आन्दोलन हुँदा ठूलो मारमा परेका छौँ । कर्फ्यू लागेपछि व्यापार व्यवसायमा धेरै फरक आएको छ । एक त कोभिडपछि व्यापार फस्टाउनै सकेको थिएन । थोरै राम्रो हुन लागेको मात्र थियो । अहिले फेरि आन्दोलनले नकरात्मक असर पुग्यो,’ उनले भने । 

उनले नेताहरुका कारण देशमा भ्रष्टाचारले सिमा नाघेका कारणले पनि युवाहरुले युवाहरु आक्रोशित भएर हालको अवस्था सिर्जना भएको उनको बुझाई छ । 

आन्दोलनका क्रममा सम्पदा, ट्रेकिङ रुटहरु, प्राकृतिक दृश्य जस्ताको त्यस्तै भएकाले फेर व्यवसाय फस्टाउनेमा आफू विश्वस्त रहेको उनले बताए । 

‘यतिबेला पर्यटक आउने सिजन शुरू भएको थियो । तर बीचैमा आन्दोलन हुँदा असर पुगेको छ । हाल ग्राह नभएपनि पसल खोलेर बसेका छौं । यसो गर्नुको उद्देश्य पर्यटकहरुमा गलत सन्देश नजावोस् र चहलपहल बढोस् भन्नका लागि हो’, उनले भने । 

अर्का कार्गो व्यवसायी दिनेश आचार्यले माओवादीको द्वन्द्वदेखि नै व्यवसायी मर्कामा परिरहेको बताउँछन् । उनले आज होला भोलि होला भन्दाभन्दै दशक वितेपनि व्यवसायमा सुधार नभएको गुनासो गरे । 

‘आज राम्रो होला कि भोलि राम्रो होला भन्दै दशक बिताइसकियो । द्वन्द्वदेखि ०७२ सालको भुकम्प त्यसपछि कोभिडका कारण व्यवसाय शिथिल छ । यो आन्दोलनले झनै आक्रान्त पार्यो । देश एकपछि अर्को अन्योलमा फसेको छ । एक दिन देशमा शान्ति होला, हामीलाई सहज होला भन्दै विदेश नगई नेपालमै केही गर्नुपर्छ भनेर व्यवसाय सुरु गरेको तर कहिले पनि सोचेजस्तो भएन् । २५ बर्षदेखि यो व्यवसाय समाल्दै आए पनि कहिल्यै त्यस्ता सुर्वण दिन आएनन्’, उनले भने । 

पर्यटन क्षेत्रमा भर्खरै मात्रमा सिजन सुरु हुन लागेको बेला निषेधाज्ञा भएकाले पर्यटन व्यवसायीलाई कठिनाई भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ