भदौ २३ गते सोमबार स्कूलमा अध्ययन गरिरहेका साना अबोध नानीबाबुहरू तत्कालीन सरकारले दम्भका साथ बन्द गरेको सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर, इन्स्टाग्राम, ह्वाट्सएप लगायत) को निहुँ पारेर जेन-जीको नाम दिएर आन्दोलनका लागि भेला गराइए ।
क्षणमै खुशी हुने, क्षणमै रिसाउने, आफ्नो विचारमात्र सही हो भन्ने र दायाँ बायाँ सोच्दै नसोच्ने उमेरका धेरैजना आन्दोलनमा होमिए । आन्दोलनमा सामेल भएका कलिला उमेरका युवालाई सन्काउनका लागि लाठे भुसतिघ्रेहरू पछाडि लागे ।
अपराधमात्र गर्लान् जस्ता देखिने भुसतिघ्रेहरूले पर्दा पछाडि बसेर सन्काइदिए अनि साना भाइहरू उक्साहटमा लागेर संसद भवनभित्र जान कस्सिए । त्यही बखत कतैबाट परिचालित मानिसको जस्तै आकार भएकाहरूले गोली नसकिएसम्म भुटुङ टुङ बनाई दिए र १९ जनालाई त्यहीँ ढलाइ दिए ।
नेपालमा कहिल्यै नभएको र कसैले नसोचेको भयो। धेरै मानिसहरूको मन छिया छिया बनायो र आक्रोश पैदा गर्यो । एकाघरका परिवारलाई त बज्रपात नै भयो । अन्य राम्रो मन भएका धेरै मानिसलाई नरमाइलो बनायो।
भदौ २४ गते मंगलबार नेपालको इतिहासमा विश्वसामु नेपाल र नेपालीभित्र लुकेको बेइमानी, आपराधिक छवि जुनैबेला बहुलाउन सक्ने क्षमता, चोरी डकैती गर्ने बानी, अर्काको दुःखमा खुशी खोज्ने संस्कार आदि सबै एकै दिनमा देखाइदिए ।
कुन-कुन बुङ्गाले जिम्मा लिन्छन् हाम्रो पुर्खाहरूले जोगाएर राखेको इतिहासको धरोहर सिंहदरबारको क्षति, सर्वोच्च अदालतको आगजनी, विभिन्न सरकारी संयन्त्रको क्षति अनि धेरै लामो प्रयास पश्चात बनेका प्रहरीचौकीको आगजनी तथा क्षति ?
हाम्रै सुरक्षाको लागि खटिएका प्रहरीहरूलाई मार्ने अनि दशौँ हजारलाई रोजगारी दिएर देशका लागि कर भुक्तानी गरिरहेका व्यवसायीहरूको धनजनको क्षति, चोरी डकैती जस्ता नितान्त अपराध इतिहासमा कहिल्यै नदोहोरियोस् । मंगलबार देश सकिए जस्तै लाग्यो मन सम्हाल्न गाह्रो भयो । देश रुदा म हेरिरहेँ ।
हालैका दिनमा भएको घटनाक्रम हेर्दा ठग, बेइमान, क्षणमै हौसिने, क्षणमै शान्त हुने, क्षणमै बहुलाउनेहरू बस्ने देशको रूपमा परिचय दिएर आज पनि झुट लुकाउने प्रयासमा नै तल्लिन छन् बुङ्गाहरू ।
भदौ २४ गते झलनाथ खनालको घरका सदस्य सबैजना भित्रै भएको अवस्थामा आगो लगाएर बाहिर जम्मा भई ठट्टा गर्दै खुशी मनाइरहेका उनकै छिमेकी अलछिनाहरू । अनि त्यत्रो क्षति गर्दासम्म रमिता हेरेर बस्ने झण्डै लाखको संख्यामा रहेका बँदुवाहरू, श्रीपेचको रक्षाको लागि बनाएको बेकामे ३५ हजार हाराहरीका टाटेहरू, अनि अघिल्लो दिन भुटुङटुङको ट्याग लागेका झण्डै ७६ हजार बहुरूपी लाखेहरू, देशबाट पारिश्रमिक बुझिरहेका ८५ हजार हाराहारी संख्यामा रहेका तरमाराहरूले आफ्नो कार्यालय जोगाउनका लागि कुनै प्रयास गरेनन् । थुइक्क तिमीहरूलाई विश्वास गरेर बस्ने म लगायतका तीन करोड नेपालीहरू । थुइक्क भो ।
नेपाल मानिस बस्न योग्य देश नै हो भनेर भन्नका लागि पहिला व्यक्तिको घर अनि सार्वजनिक सम्पत्ति, व्यवसायिक क्षेत्रमा आगो लगाउने, तोडफोड गर्ने बुङ्गाहरूको पहिचान गरेर झुण्ड्याई दिए हुन्छ ।
अनि कलिला जेन-जीको नाममा प्रयोग भएका बाबुहरूको परिवारको माग अनुसार राहत दिनुपर्छ। देशलाई प्रयोगशालाको रूपमा विकसित गर्न केकेहरू स्वयंले आफ्नो भूमिका रहेको खुलाएका छन् ।
रातमा सक्रिय चमेरा, दिनमा जिका भाइरसको रूपमा देखिने तत्व, धेरै वर्षअघि श्राद्ध भैसकेको संस्थाको मोह भएको तत्वहरू लगायतले मेरो देश प्रयोगशाला बनाए। देश रुदा म हेरिरहेँ।