भागेका साढे १४ हजार ५४९ मध्ये चार हजार ७७४ फर्किए कारागारमा
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
802
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । जेन–जी आन्दोलनको मौका छोपेर भागेका विभिन्न अपराधमा सजाय भोगिरहेका र आरोपमा हिरासतमा रहेका तथा सुधार गृहमा रहेका गरी पाँच हजारको हाराहारीमा कैदीबन्दी कारागारमा फर्केका छन् ।
कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीका अनुसार सोमबार अपरान्ह ४ बजेसम्म चार हजार ७७४ कैदीबन्दी कारागार फर्केका छन् ।
कारागार र सुधारगृह गरी ३० हजार ६१८ कैदीबन्दी रहेकामा जेन–जी आन्दोलनको मौका पारेर १४ हजार ५४९ कैदीबन्दी भागेका थिए । जसमा ९६४ जना सुधारगृह तर्फका हुन् ।
अहिलेसम्म फिर्ता आएका, सुरक्षाकर्मीले पक्राउ गरेकासमेत गरी चार हजार ७७४ जना हुन् । जसमा फिर्ता आउनेमा २४४ जना सुधारगृह तर्फका हुन् ।
अहिलेसम्म कारागारमा रहेका ५ र सुधारगृहतर्फ रहेका ५ गरी १० जनाको मृत्यु भइसकेकोसमेत सूचना अधिकारी जोशीले बताए ।
एक जनाले आत्महत्या गरेकोसमेत गरी गरेर ११ जनाको मृत्यु भएको छ । आत्महत्या गर्ने सप्तरीका हुन् । उनले जेलबाट भागेपछि सप्तरीको जंगलमा गएर आत्महत्या गरेको पाइएको सूचना अधिकारी जोशीले बताए ।
कारागार व्यवस्थापन विभागले कारागारबाट भागेकाहरूलाई तत्काल फर्कन सूचना जारी गरेसँगै फर्कने क्रम चलिरहेको उनले बताए ।
उनले जिल्ला प्रशासन कार्यालयले पनि समन्वय गरिरहेकाले फर्कनेको संख्या बढिरहेको बताए ।
सीमाबाट समेत केहीलाई पक्राउ गरिएको छ । यसबाट धेरैको संख्यामा कैदीबन्दी भारतमा भागेका हुनसक्ने आँकलन गर्न सकिन्छ ।
सूचना अधिकारी जोशी भने सीमामा कडाइ गरिएकाले भारत जानेको संख्या बढी नभएको बताउँछन् ।
उनी सम्भवतः चाडबाड आइरहेको र चाड मनाएर फर्किउँ भन्ने मनस्थितिले पनि कैदीबन्दी घरमै लुकेको हुन सक्ने आँकलन गर्छन् ।