arrow

जनेजी समूहको आन्दोलनपछि व्यावसायिक क्षेत्रलाई ठूलो क्षति, भ्रमपूर्ण समाचारप्रति शङ्कर ग्रुपको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
hilton-hotel-protest-sept09.jpg
तस्बिर : फाइल

काठमाडौँ। भाद्र २३ र २४ गते जनेजी समूहको अगुवाइमा भएको आन्दोलनले मुलुकमा नयाँ परिवर्तन ल्याएको छ। आन्दोलनका क्रममा दर्जनौँ नेपाली नागरिकहरूले शहादत प्राप्त गरेका छन्। शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। यस परिवर्तनपछि केही दिनयता जनेजीका अगुवा सुदन गुरुङ, इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र शङ्कर ग्रुपका सञ्चालक साहिल अग्रवाल सम्बन्धी विभिन्न अनलाइन, पत्रपत्रिका र सामाजिक सञ्जालमा भ्रमपूर्ण र काल्पनिक समाचार प्रकाशन भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

कोभिड महामारीको समयमा व्यावसायिक दायित्वभन्दा माथि उठेर मानव सेवामा लाग्ने उद्देश्यले ‘हामी नेपाल’ संस्थासँग हातेमालो गरिएको र सो क्रममा हजारौँ विपन्न नेपालीलाई उपचार तथा पुनर्स्थापनामा सहयोग गरिएको बताइएको छ। यस क्रममा संस्थापक सुदन गुरुङसँग चिनजान भएको भए पनि त्यसयता कुनै सहकार्य नभएको स्पष्ट पारिएको छ। सो सहयोग तत्कालीन सामाजिक उत्तरदायित्वअन्तर्गत पारदर्शी रूपमा गरिएको र त्यसबारे प्रेस वक्तव्यमार्फत तत्कालै जानकारी गराइएको समेत दोहोर्‍याइएको छ।

तर पछिल्ला दिनमा केही सञ्चारमाध्यमले शङ्कर ग्रुप र इन्फिनिटी होल्डिङ्सलाई सुदन गुरुङका हालका गतिविधिसँग जोडेर आधारहीन समाचार प्रकाशित गरेकोमा आपत्ति जनाइएको छ। यसबारे कुनै सञ्चारमाध्यमले संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क नगरी अनुमानका भरमा समाचार प्रकाशित गरेको उल्लेख छ। आन्दोलनकै क्रममा विभिन्न व्यावसायिक प्रतिष्ठानमा आगजनी, तोडफोड र लुटपाट भएका घटनाले निजी क्षेत्र प्रभावित भएको छ। यसै क्रममा हालसालै सञ्चालनमा आएको अन्तर्राष्ट्रिय स्तरको होटेल हिल्टन पनि पूर्ण रूपमा जलेर खरानी भएको छ।

जगदम्बा हस्पिटालिटी समूहअन्तर्गत सञ्चालनमा आएको उक्त होटेल नष्ट हुनु केवल भौतिक क्षति मात्र नभई नेपालको व्यापार, पर्यटन र समग्र अर्थतन्त्रलाई ठूलो धक्का भएको बताइएको छ। “नेपालमै जोखिम मोलेर लगानी गर्नु हाम्रो गल्ती थियो? हाम्रो सम्पूर्ण मिहिनेत र सपनासँगै धरोहर खरानी बनेकोमा हामी विक्षिप्त भएका छौँ।

तर हामी विचलित छैनौँ। फेरि सम्हालेर व्यवसायलाई नयाँ शिराबाट अघि बढाउनेछौँ,” इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र शङ्कर ग्रुपका सञ्चालक साहिल अग्रवालले संयुक्त वक्तव्यमा उल्लेख गरेका छन्। उनीहरूले भ्रामक र कपोलकल्पित समाचारप्रति नेपाली दाजुभाइ, दिदीबहिनी, आमा–बुबालाई भ्रममा नपर्न अपिल गर्दै सङ्कटको घडीमा पनि देश र जनताप्रति योगदान गर्ने अठोट प्रकट गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ