arrow

गाजा सहरबाट करिब ४८ हजार मानिस विस्थापित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १ बुधबार
united-nation-headquaters.jpg

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए) का अनुसार गाजा सहरमा हालैका दिनमा भएसँगैको स्थल कारबाहीका कारण करिब ४८ हजार प्यालेस्टिनी नागरिकले दक्षिणतर्फ सरेका छन् ।

उक्त कार्यालयले जनाएअनुसार, अगस्त महिनाको मध्यदेखि हालसम्म करिब एक लाख ९० हजारभन्दा बढी व्यक्तिहरूले गाजा सहर छोडिसकेका छन् । धेरै विस्थापितहरू अत्यधिक गर्मीका बाबजुद, पैदलै यात्रा गर्न बाध्य छन् ।

“विस्थापित परिवारहरू विशेषगरी महिला र वृद्ध सदस्यको नेतृत्वमा नाङ्गो खुट्टा, घाइते बालबालिका र भारी बोक्दै, घण्टौँसम्म हिंडिरहेका छन् ।”

संयुक्त राष्ट्रका साझेदार संस्थाहरूले करिब एक हजार ५०० भन्दा बढी व्यक्तिहरूलाई, जसमा ९०० भन्दा बढी बालबालिका छन्, मानसिक सहायता, खानेपानी तथा औषधोपचार प्रदान गरिसकेका छन् ।

स्वास्थ्य सेवा प्रदायक संस्थाहरूका अनुसार गाजाका अस्पताल तथा स्वास्थ्य केन्द्रमा अत्यधिक चाप छ । यसै साता गाजा शहरको अल-कुद्स अस्पताल नजिकैको आक्रमणका कारण अस्पतालमा क्षति पुगेको छ र हाल उक्त स्थानमा विस्थापितहरू आश्रय लिइरहेका छन् । यसबाहेक, संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित ६ स्वास्थ्य केन्द्रमध्ये केवल ३ वटा मात्र सञ्चालनमा रहेका छन् ।

जिकीम सीमा नाका विगत चार दिनदेखि बन्द रहेको तथा भीड र लुटपाटका कारण इन्धन र औषधिसम्बन्धी आपतकालीन सेवाहरू अवरुद्ध भएको ओसीएचएले जनाएको छ ।

सहायता बोकेका सवारी साधनहरू ढिलो हुने, जोखिम सामना गर्नुपर्ने र बाटोमै अड्किने समस्याले सहायता अत्यन्त आवश्यक रहेका व्यक्तिहरूसम्म पुग्न गाह्रो भएको छ ।

“यी सबै चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि, संयुक्त राष्ट्रसङ्घ र यसका मानवीय साझेदारले गाजा क्षेत्रमा अत्यावश्यक सेवा प्रदान गर्न निरन्तर प्रयासरत छन्,” ओसीएचएले उल्लेख गरेको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ