arrow

जेन-जी आन्दोलनमा भएका घटनाको जिम्मेवारी लिन सरकारलाई आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १ बुधबार
gen-z-shok-diwas.jpg

काठमाडौँ । गत भदौ २३ र २४ गते भएकाे जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा बुधबार देशभर राष्ट्रिय शोक दिवस मनाइएको छ ।

नेपाल सरकारद्वारा घोषित राष्ट्रिय शोक दिवसको अवसरमा जेन-जी मुभमेन्ट एलायन्सले राजधानीको खुला मञ्चमा दीप प्रज्वलन तथा मौनसभा कार्यक्रम गरेको छ ।

कार्यक्रममार्फत आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गरिएको छ । 

जेन-जी मुभमेन्टले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘शहीदको रगतको जगमा उभिएको हाम्रो राष्ट्र सदैव शहीदहरूप्रति अनुगृहित रहनेछ । हामी हाम्रा प्रिय सहयोद्धाहरूलाई सदा सम्झिरहनेछौँ । शहीदका सपना पूरा गर्नु नै अबको हाम्रो सामाजिक-राजनीतिक दायित्व हो । अझै धेरै गर्न बाँकी छ ।’

संगठनले आन्दोलनका क्रममा भएको राज्य दमनविरुद्ध देशैभरि भएका प्रतिरोधजन्य घटनाको जिम्मेवारी लिन अन्तरिम सरकारलाई आग्रह गर्दै, जेनजी आन्दोलन र राज्यबीच स्पष्ट राजनीतिक सहमति आवश्यक रहेको उल्लेख छ ।

सरकारले घोषणा गरिसकेको जेन-जी क्रान्ति मेमोरियल पार्कलाई काठमाडौँको खुला मञ्चमा यथाशीघ्र निर्माण गरिनुपर्ने माग पनि दोहोर्याइएको छ । 

साथै, शहीद परिवार तथा आन्दोलनका क्रममा घाइते भएकाहरूको माग तत्काल सम्बोधन गर्नसमेत जेन-जी मुभमेन्टले आग्रह गरेको छ ।

‘महान् शहीदहरू अमर रहुन्’ भन्ने नारा लगाउँदै शान्तिपूर्ण तर भावनात्मक वातावरणमा श्रद्धाञ्जली अर्पण गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ