arrow

जेन–जी आन्दोलनको असरः जेलबाट भागेका आठ हजार आठ सय कैदीबन्दी अझै सम्पर्क बाहिर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १ बुधबार
karagar-prison-management.jpg

काठमाडौँ । जेन–जी आन्दोलनको मौका छोपेर भागेका विभिन्न अपराधमा सजाय भोगिरहेका र आरोपमा हिरासतमा रहेका तथा सुधार गृहमा रहेका गरी साढे पाँच हजार भन्दा बढी कैदीबन्दी कारागारमा फर्केका छन् । 

कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीका अनुसार बुधबार साँझ ५ बजेसम्म पाँच हजार ७३९ कैदीबन्दी कारागार फर्केका छन् । 

कारागार र सुधारगृह गरी ३० हजार ६३४ कैदीबन्दी रहेकामा जेन–जी आन्दोलनको मौका पारेर १४ हजार ५५५ कैदीबन्दी भागेका थिए । 

जसमा ९६४ जना सुधारगृह तर्फका हुन् । अहिलेसम्म फिर्ता आएका, सुरक्षाकर्मीले पक्राउ गरेकासमेत गरी पाँच हजार ७३९ जना हुन् । जसमा फिर्ता आउनेमा २४४ जना सुधारगृह तर्फका हुन् । 

अहिलेसम्म कारागारमा रहेका ५ र सुधारगृहतर्फ रहेका ५ गरी १० जनाको मृत्यु भइसकेकोसमेत सूचना अधिकारी जोशीले बताए । 

एक जनाले आत्महत्या गरेकोसमेत गरी गरेर ११ जनाको मृत्यु भएको छ । आत्महत्या गर्ने सप्तरीका हुन् । उनले जेलबाट भागेपछि सप्तरीको जंगलमा गएर आत्महत्या गरेको पाइएको सूचना अधिकारी जोशीले बताए । 

कारागार व्यवस्थापन विभागले कारागारबाट भागेकाहरूलाई तत्काल फर्कन सूचना जारी गरेसँगै फर्कने क्रम चलिरहेको उनले बताए । 

उनले जिल्ला प्रशासन कार्यालयले पनि समन्वय गरिरहेकाले फर्कनेको संख्या बढिरहेको बताए । 

सीमाबाट समेत केहीलाई पक्राउ गरिएको छ । यसबाट धेरैको संख्यामा कैदीबन्दी भारतमा भागेका हुनसक्ने आँकलन गर्न सकिन्छ । 

सूचना अधिकारी जोशी भने सीमामा कडाइ गरिएकाले भारत जानेको संख्या बढी नभएको बताउँछन् । 

उनी सम्भवतः चाडबाड आइरहेको र चाड मनाएर फर्किउँ भन्ने मनस्थितिले पनि कैदीबन्दी घरमै लुकेको हुन सक्ने आँकलन गर्छन् । 

प्रहरीले भने यसको खोजी जारी राखेको छ । जघन्य अपराधमा जेल सजाय काटिरहेका अपराधी जेलबाट भागेपछि फेरि अपराध कर्ममै पाइएकाले पनि उनीहरु बाहिर बस्दा समाजलाई खतरा कायमै रहेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नक्खु कारागारबाट तामझामका साथ कार्यकर्ता र परिवारसँग बाहिरिएसँगै उनको देखासिकी गरेर देशभर कारागार छाड्ने माहोल बढेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ