जेन–जी शहीद विजय चौधरीको परिवारलाई लहान नगरपालिकाले सहयोग गर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २ बिहिबार
1.1k
Shares
काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा काठमाडौँमा निधन भएका सिराहाको लहान नगरपालिका–१५ सिमलटोकीका २७ वर्षीय विजय चौधरीको परिवारलाई नगरपालिकाले सहयोग गर्ने भएको छ ।
लहान नगरपालिकाले मृतक चौधरीको परिवारलाई सहयोग गर्ने नगर प्रमुख महेशप्रसाद चौधरीले बताए । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले मृतक चौधरीको परिवारलाई खाद्यान्न सामग्रीसहित एक लाख रुपैयाँ, उनकी श्रीमतीलाई शैक्षिक योग्यताका आधारमा रोजगारी तथा चार वर्षीया छोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरिने जानकारी दिए । उनी नेपाली कांग्रेसबाट विजयी भएका मेयर हुन् ।
चौधरीको गत भदौ २३ गते काठमाडौंस्थित बानेश्वरमा प्रदर्शनका क्रममा प्रहारीको गोली लागेर मृत्यु भएको थियो । काठमाडौँमै श्रीमती र छोरीसहित डेरा गरी बस्दै आएका चौधरी हाउसवायरिङको काम गर्दै आएका थिए ।
सरकारले जेन–जी आन्दोलनमा मारिएकालाई १० लाख, अतिरिक्त पाँच लाख र एक लाख किरिया खर्च दिने घोषणा गरिसकेको छ ।