arrow

संयुक्त राष्ट्रसंघको चेतावनी: जलस्रोतमाथि बढ्दो दबाब र अप्रत्याशित चरम घटनाहरू

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३ शुक्रबार
united-nations.jpg

काठमाडौँ। संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) ले जलवायु परिवर्तनका कारण विश्वव्यापी जलस्रोतमाथि अभूतपूर्व दबाब बढिरहेको र बाढी तथा खडेरी जस्ता चरम घटनाहरूमा अनियमितता देखिएको चेतावनी दिएको छ। बिहीबार प्रकाशित ‘स्टेट अफ ग्लोबल वाटर रिसोर्सेज’ प्रतिवेदनमा उल्लेख भएअनुसार, हिमनदीको सङ्कुचन, खडेरी, नदी बेसिनमा असन्तुलन र गम्भीर बाढीले विश्वको जलचक्रलाई थप अप्रत्याशित बनाएको छ।

डब्ल्यूएमओ प्रमुख सेलेस्टे साउलोले भनिन्, "विश्वका जलस्रोतहरू बढ्दो दबाबमा छन्, जसले पानीसँग सम्बन्धित चरम खतराहरूलाई बढाउँदै जीवन र जीविकामा गहिरो असर पारिरहेका छन्।"

प्रतिवेदनअनुसार, गत वर्ष इतिहासकै सबैभन्दा तातो वर्ष थियो। यसले दक्षिण अमेरिकाको उत्तरी भाग र अमेजन बेसिनमा लामो खडेरी ल्यायो भने मध्य अफ्रिका, युरोप र एसियामा विनाशकारी बाढी र आँधीबेहरीसहित सामान्यभन्दा बढी वर्षा भयो।

डब्ल्यूएमओ ले लगातार छैटौँ वर्ष विश्व नदी बेसिनहरूमा स्पष्ट असन्तुलन देखिएको जनाएको छ। प्रतिवेदनले दुई तिहाइ क्षेत्रमा अत्यधिक वा न्यून पानीको अवस्था रहेको र यसले जलचक्रको बढ्दो अनियमिततालाई देखाएको उल्लेख गरेको छ।

तातो मौसमका कारण प्रमुख तालहरूको पानीको गुणस्तरमा गिरावट आएको र लगातार तेस्रो वर्ष पनि सबै क्षेत्रका हिमनदीहरू सङ्कुचित भएका छन्। हिमनदी पग्लिएकै कारण गत वर्ष समुद्री सतह १.२ मिलिमिटरले बढेको र यसले तटीय क्षेत्रमा बस्ने लाखौँ मानिसहरूलाई बाढीको जोखिममा पारेको प्रतिवेदनमा बताइएको छ।

डब्ल्यूएमओ ले विश्वभर जलस्रोतको अनुगमन र तथ्याङ्क आदानप्रदानलाई अझ सशक्त बनाउन आग्रह गरेको छ। खडेरी, बाढी र हिमनदीको क्षतिको जोखिम व्यवस्थापनका लागि जलस्रोत र जलसम्बन्धी चरम घटनाहरूलाई बुझ्न र मापन गर्न अपरिहार्य रहेको प्रतिवेदनले जोड दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ