काठमाडौँ । जेन-जी न्दोलनका कारण अस्तव्यस्त बनेको नेपाल क्रमशः लयमा फर्किँदै छ । हिंसात्मक आन्दोलनका कारण प्रभावित बनेका मझौलादेखि ठूला व्यापारी विस्तारै लय समात्ने तरखरमा छन् ।
हिन्दूहरूको महान पर्व दशैँ नजिकिँदै गर्दा देशभरका हाटबजारमा चहलपहल बढ्दै गएको छ । विशेषगरी काठमाडौँ उपत्यका भित्रका न्यूरोड, अशन, इन्द्रचोक, लगनखेल, मंगलबजार जस्ता क्षेत्रमा दशैँको किनमेल गर्नका लागि मानिसको भीड बढ्न थालेको छ । तर अघिल्ला वर्षकाे तुलनामा यस पटक व्यापार निकै कम भएकाे व्यवसायीकाे गुनासाे छ ।
न्यूरोडकी कपडा व्यापारी सोनु गुप्ताले बजारमा भीड बढे पनि सोचेजस्तो व्यापार हुन नसकेको बताइन् । साथै व्यापार पहिला जस्तो नभएको र हरेक वर्ष घट्दै गएको पनि उनको भनाइ छ ।
उनले भनिन्, ‘बजारमा भीड बढेको छ नभएको होइन् तर व्यापार भने सोचेको जस्तो भएको छैन् । अहिलेको अवस्थामा मान्छेले चाहिने सामान मात्र खरिद गर्ने भएकाले अति आवश्यक सामानको विक्री मात्र भइरहेको छ । हामीले भारतबाट सामान ल्याउने भएको हुनाले केही समस्या भने भएको छैन् । हरेक वर्ष व्यापार घट्दै गएको छ, पहिला जस्तो व्यापार भने छैन् ।’
अशन क्षेत्रकै अर्का व्यापारी प्रभा श्रेष्ठले पनि अहिले आन्दोलनको प्रभावले गर्दा व्यापार अलि कम नै भइरहेको सुनाइन् ।
उनले भनिन्, ‘अहिले आन्दोलनको प्रभावले गर्दा व्यापार कम छ । हिजोबाट भर्खर चहलपहल हुन थालेको छ । अब फूलपातीसम्म व्यापार कस्तो हुन्छ हेर्नैपर्छ । यसपाली पहिला भन्दा कम नै छ ।’
न्यूरोडमा भर्खरै व्यापार शुरू गरेका व्यापारी रमेश श्रेष्ठले आन्दोलनका कारणले गर्दा सामान्य व्यापारीलाई धेरै नै समस्या परेको गुनासो गरे ।
उनले भने, ‘बाहिर बजारमा त व्यापार होला तर भित्रि बजारमा छैन् । आन्दोलनको कारणले सामान्य व्यापारीलाई भने धेरै नै समस्या परेको छ । हामीले त यही व्यापारबाट खानेबस्ने हो । विगत वर्षको भन्दा आफ्नै व्यापार खस्किएको छ ।’
आन्दोलनले गर्दा बजारमा नकारात्मक प्रभाव परेको र व्यापार घटेको अवस्थामा कुनै स्थानमा भने व्यापार बढिरहेको पनि छ ।
न्यूरोडकै व्यापारी रेखा पौडेल श्रेष्ठले दशैँको बेला व्यापार सामान्य भइरहेको र पसलहरु भरिभराउ नै रहेको बताइन् ।
उपभोक्ता विपना प्याकुरेलले आन्दोलनले गर्दा पहिलाको भन्दा सामानको मूल्य बढेको सुनाइन् ।
उनले भनिन्, ‘अहिले आन्दोलनले गर्दा हो कि, सामान पनि त्यस्तो राम्रो छैन् र पहिलाको भन्दा मूल्य पनि बढेकै छ । पाँच सयदेखि, हजार रुपैयाँसम्म बढेको छ ।’
उपभोक्ता विमल गिरीले पनि मन्दीका बेला मौका छोप्ने र सामानको मूल्य बढाउने गरेकाले व्यापारमा फाइदा नहुने बताए ।