रगतमाथि खेलबाड नगर्न जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेको चेतावनी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ४ शनिबार
938
Shares
काठमाडौँ । जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरुले आफूहरुको रगतमाथि खेलवाड नहोस् भन्ने चाहेको बताएका छन् । उनीहरु आफंँले कसैलाई सत्तामा पुर्याउन भन्दा पनि समाजमा व्याप्त भ्रष्टाचार र कुशासन अन्त्यका लागि बलिदान गरेको बताए ।
संवाद डबलीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा घाइते अछामका आदित्य रावलले आफूहरुले कसैलाई कुर्सीमा पुर्याउनका लागि आन्दोलन नगरेको बताए ।
उनले सरकारले शहीद परिवार र घाइतेको जीविकोपार्जनबारे ठोस कार्यायोजना बनाउनुपर्ने मागसमेत गरे । अहिले सरकारले दिएको सहयोग प्राप्त नहुनेसमेत बताए ।
घाइते गुल्मीका गोकर्ण विस्ट, हुम्लाका सुरेश ऐडीले आफूहरु त्रासको वातावरण बसेको बताए । उनले घाइतेको उपचारसँगै भयरहित वातावरण बनाउन सरकारसँग आग्रह गरे ।
घाइते प्रकाश विष्टकी दिदी दुर्गा विस्टले आफ्ना भाइहरुको रगत खेर जाने अवस्था सिर्जना भए आफूहरु पनि सडकमा निस्किन बाध्य हुने चेतावनी दिइन् ।
घाइते आफन्त सरस्वती रावलले घाइतेले अस्पतालकै बेडमा आफ्नो रगत खेर जाने अवस्था आउछ कि भन्ने चिन्तामा रहेको बताइन् । उनले देश र जनताका लागि बगेको रगत खेर जानु नहुने बताइन् ।
पूर्णबहादुर भण्डारीले जेनजी पुस्ताले गरेको आन्दोलनमा आफूहरुको समर्थन रहेको बताउँदै बलिदान खेर जाने अवस्था आउन नदिन सबै लाग्नुपर्ने बताए ।
जेनजी अगुवा सुप्रिया नेपालीले राजनीतिक स्थिरताका लागि आफूहरुले रगत बगाएको, विज्ञहरुको मन्त्रिपरिषद्, पूर्णसमानुपातिक निर्वाचन प्रणाली, शिक्षा, स्वास्थ्य निःशुल्क, २०४६ यता उच्च तहमा पुगेका राजनीतिज्ञ र प्रशासकको सम्पत्ति छानबिन गर्नुपर्ने माग रहेको बताइन् । उनले आफूहरुका माग पूरा नभए आन्दोलन जारी रहने चेतावनीसमेत दिइन् ।
जेनजी आन्दोलनका अगुवा प्रकाश रावलले २३ गतेको आन्दोलन देशको मुहार फेर्न भएको थियो । देशको बनाउन जन्मेका युवा भएको बताउँदै आफूहरुको शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारले ताकि ताकी गोली चलाएको बताए ।
सरकारले गोली हान्ने आदेश नदिएको भन्ने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइमा रावलले भने, ‘सरकारले गोली हान्ने आदेश दिएको होइन कसले गोली हानेको हो?, छानबिन गर्नुपर्छ ।’ उनले भ्रष्टाचार, कुशासनकाविरुद्ध शान्तिपूर्णरुपमा विरोध प्रदर्शनमा उत्रिएको बताए ।
रावलले पत्यक्ष कार्यकारी निर्वाचित शासकीय स्वरुप हुनुपर्ने बताउँदै त्यसको लागि संविधान संशोधन गरेरै भए पनि जनताबाट निर्वाचित प्रधानमन्त्रीको चुनाव हुनुपर्ने बताए । उनले शहीद र घाइतेको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने बताए ।
घाइते पत्रकार प्रेमराज राइका दाई पत्रकार चन्द्र ओमबुलेले घाइते पत्रकारलाई पनि वेवास्ता गरिएकोप्रति रोष व्यक्त गरे ।